सर्लाहीमा क्षयरोगी बढे

Friday April 5, 2024

पढ्न लाग्ने समय :


बरहथवा (सर्लाही) । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो ।

गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् ।

जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए ।

जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए ।

उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन् ।

गाउँ समाजमा क्षयरोगसम्बन्धी चेतनास्तर कम भएका कारण पनि क्षयरोग सङ्क्रमण बढेको उनको भनाइ छ । क्षयरोग नियमित उपचारबाट निको बनाउन सकिने भए पनि अझै धेरै उपचार सेवाबाट टाढा रहने गरेका उनको भनाइ छ । सङ्क्रमितले गर्ने लापरबाही क्षयरोगी बढ्नुको मुख्य कारण रहेको स्वास्थ्यकर्मीको दाबी छ ।

स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जिल्लामा क्षयरोगी खोज पड्ताल अभियान बढेका कारण बिरामी धेरै फेला परेको उनको दाबी थियो ।

समाजमा क्षयरोगी लुकेर रहे लक्ष्य पूरा गर्न समस्या हुने भएकाले सबै रोगी फेला पार्नुपर्ने बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले बताए । यस क्षेत्रमा मुस्लिम, दलितलगायतका समुदायमा क्षयरोगीको सङ्ख्या पहिचान गरेको छ ।

यस रोगले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुपोषित बालबालिका, मधुमेह, क्यान्सरलगायतका बिरामी, इँटाभट्टामा काम गर्ने परिवार तथा बालबालिकालाई उच्च जोखिममा पारेको डा झाले बताए ।

लामो समय सुक्खा खोकी लागे, रातिराति ज्वरो आए, जिउ दुख्नेलगायतका समस्या भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर खकार जाँच गर्नुपर्ने उनको भनाइ छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ