सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

Monday April 22, 2024

पढ्न लाग्ने समय :


सर्लाही । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा ८ हजारभन्दा बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिए ।

तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । सबैभन्दा कम पर्सा गाउँपालिकाका बालबालिका विद्यालय बाहिर छन् । बरहथवा नगरपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका तीन सय ६९ जना बालिका र चार सय ६३ जना बालक गरी आठ सय ३२ बालबालिका विद्यालय बाहिर छन् ।

यस्तै सबैभन्दा कम पर्सा गाउँपालिकामा एक सय १५ जना बालिका र एक सय २७ जना बालक गरी दुई सय ४२ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१, स्थित प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताए । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियान मार्फत विद्यालयमा ल्याइने शिक्षक रायले बताए ।

अन्य पालिकामा पनि विद्यालय उमेरका बालबालिका अझै विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । विशेष गरेर गरिबी तथा चेतनास्तरको कमीका कारण बालबालिकालाई अभिभावकले विद्यालय नपठाउने गरेको पाइएको छ । धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताए ।

यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन जिल्लामा यतिबेला भर्ना अभियान चलिरहेको छ । विद्यालयका शिक्षक शिक्षिका व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थितिमा र्‍याली तथा घर दैलो कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । अधिकांश पालिकाले यस वर्ष विद्यालय उमेरका बालबालिकालाई शतप्रतिशत विद्यालय भर्ना गरिने बताएका छन् ।


भर्खर

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं । नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको छ

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल