सर्लाहीमा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

Sunday April 28, 2024

पढ्न लाग्ने समय :


बरहथवा (सर्लाही) । राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउने कार्यक्रम सुरु भएको छ ।

जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधि खुवाउने अभियान सुरु गरेका हुन् । विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधि खुवाउन सुरु गरेको जनाएका छन् ।

स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको छ । बागमती नगरपालिकामा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए ।

नगरकी कार्यबाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियानको सुरुवात गरेकि थिइन् । सुरुमा उनि आफैँले औषधि खाएर सुरु गर्नुभएको हो ।

योसँगैँ विद्यालयमा रहेका छात्रछात्रालाई औषधि खुवाउन सुरु गरिएको छ । बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ ।

यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ ।

अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाईले रोगमुक्त बनाउन सहयोग पुराइ दिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले आग्रह गरे । अभियानमार्फत् जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधि खुवाइने डा झाले जानकारी दिए ।

यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन् ।

उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधि खुवाउनेछन् । भने, घर–घरमै पुगेर पनि औषधि खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले राससलाई जानकारी दिए ।

हात्तीपाईले रोगविरुद्धको औषधि गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उनको भनाइ छ ।

अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । औषधि सेवनको क्रममा जिल्लामा हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइएको थियो ।

सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाईले रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरु लामो समयदेखि सङ्क्रमित भई उपचार गराइरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ सङ्क्रमित नगन्य मात्रामा फेला पर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । हात्तीपाईले रोग सङ्क्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो सङ्क्रमण फैलिने गर्दछ ।

जनचेतना तथा औषधि उपचारका कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिए ।

पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा न्यून मात्रामा सङ्क्रमित फेला परेपछि अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ