सप्तरीको चिम्टीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

Sunday May 5, 2024

पढ्न लाग्ने समय :


राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र शौचालय निर्माण गरिने भएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) को सहयोगमा गैरसरकारी संस्था सबल नेपाल र छाया नेपालले खानेपानी तथा सरसफाइका लागि शौचालय निर्माण गर्ने निर्णय गरेको हो । गत वैशाख १८ गते आगलागी भएपछि सो बस्तीमा खानेपानी र शौचालयको समस्या छ ।

गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष सुनील मण्डलले खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गरिदिन युनिसेफसहितका विकास साझेदार संस्थालाई अनुरोध गरिएको र ती संस्थाले समितिको प्रस्ताव स्वीकार गरिसकेको बताए ।

यस्तै, बैठकले बस्ती पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने, आवास निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न विकास साझेदार संघसंस्थालाई अनुरोध गर्ने र हालसम्म राहत वितरणलगायतका काममा सहयोग गर्ने सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष मण्डलले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले विपद् व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा क्रियाशील बनाउने नीतिअनुसार बाल संरक्षणका क्षेत्रमा काम गर्दै आएको आरएसके सेल्टर नामक संस्थालाई जिम्मेवारी दिइएको बताइन् । महिला तथा बालबालिकाको क्षेत्रमा कुनै पनि समस्या देखिए त्यस क्षेत्रमा कार्यरत अन्य सङ्घसंस्थालाई पनि सहयोगका लागि आव्हान गर्ने निर्णय गरिएको उपाध्यक्ष यादवको भनाइ छ ।

सबल नेपालका कार्यकारी निर्देशक दीपककुमार झाले अग्निपीडितले भोगिरहेका विभिन्न समस्यामध्ये सार्वजनिक शौचालय मर्मत सम्भार र आवश्यकताअनुसार नयाँ निर्माण गरी सञ्चालन गरिने जानकारी दिए ।

अग्निपीडितका लागि हाल पानी तथा सामुदायिक भान्सा सञ्चालन गरेर खाना  व्यवस्थापनको काम नूर वेलफेयर, मुक्ति नेपाललगायतका संस्थाले सहयोग गरिरहेका छन् ।  यसैबीच युनिसेफले सबल नेपाल र छाया नेपालसँगको समन्वयमा ४६ अग्निपीडित परिवारलाई सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरेका छन् ।

गत वैशाख १८ गते दिउँसो स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगो समयमा नियन्त्रण हुननसक्दा चिम्टी बस्तीका एक सय १४ घर जलेका थिए ।


भर्खर

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो: कतार

दोहा। मध्यस्थकर्ता कतारले मंगलबार इजराइलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको र वार्ता ‘लगभग गतिरोध’

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी  द्वन्द्वमा नागरिकहरूको मृत्युको कडा निन्दा गर्दै यस