भरतपुर अस्पतालमा रेविज विरुद्ध लगाइने खोपको चरम अभाव

Sunday April 21, 2024

पढ्न लाग्ने समय :


चितवन । भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउनुभयो । अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोपको अभाव भएको जानकारी गराए पछि निरास हुँदै उहाँ छोरीलाई लिएर बाहिर निस्किए । उनले भने, “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उनले भने “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन ।”

आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उनले त्यही एक मात्रा (डोज) खोप लगाए । घरमा आएपछि अर्को डोज लगाउन भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उनले खोप लगाउन पाइनन् । उनलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन । उनीसँगै आएका अन्य बिरामीले भनेपछि बल्ल विश्वास गरे । उनले भने, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”

भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउछन् । उनले भने, “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ ।” एक भाइललाई बाहिर किन्दा छ सय २५ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु तीन सय पर्ने गरेको जनाउँदै उहाँले रेविज विरुद्धको खोप अभावले सेवाग्राही महँगोमा परेको बताउछन्।

यी त भरतपुर अस्पतालमा रेविज विरुद्धको खोप लगाउन आउने सेवा ग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको सङ्ख्या उत्तिकै छ । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । उनले भने, “अभाव चैत २० गतेदेखि सुरु भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक) मा छौँ ।” अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उनले गुनासो गरे ।

पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उहाँका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताए । उनले थपे, ”बिरामीलाई हामिले दिने जवाफ केही छैन ।”

अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताए । उनले भने “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै सङ्घमा पनि पठाउँदा दुई सय ५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन कठिन भएको उनको गुनासो थियो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ