बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु

Monday April 15, 2024

पढ्न लाग्ने समय :


गलेश्वर (म्याग्दी) । म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बेनी अस्पतालमा गत शुक्रबारदेखि नियमित सेवामा रहेका डा आचार्यले यसअघि बागलुङ अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियामा सफलता प्राप्त गरेका थिए । डा आचार्यले बेनी अस्पतालमा पनि जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण अस्पताल व्यवस्थापन समितिमार्फत व्यवस्थापन गरिने बताए ।

बेनीमा वैशाख २ गते आइतबारदेखि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । “अब हाडजोर्नी तथा नसासम्बन्धी उपचार गर्न टाढा जानु पर्दैन । बेनी अस्पतालमा नै हुन्छ । हामीले जटिल शल्यक्रियाका लागि समेत उपकरण थप्दैछौँ”, उनले भने ।

“यहाँबाट दिन सकिने सबै सेवा उपलब्ध गराउँछौँ । यहाँ गर्न नसक्ने अवस्थाका बिरामीलाई मात्रै रिफर गर्नुपर्छ”, डा आचार्यले भने । हाडजोर्नी, नसाको समस्याका साथै हड्डी भाँचिएमा मेटल प्लेट वा पेँच राख्नेलगायतका जटिल समस्याका लागि पनि आवश्यक पूर्वाधार तयार गरी अस्पतालबाटै सेवा दिइने व्यवस्थापन समितिले जनाएको छ । बेनी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भए पनि अर्थोका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको थियो ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै शारिरीकरुपमा असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेलगायत रोगको उपचारमा सहज हुने समितिका अध्यक्ष सुवेदीले बताए ।

उनका अनुसार अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग विभागका अतिरिक्त शल्यक्रियामार्फत प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त सेवा, आँखा उपचार सेवा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकाली सेवा केन्द्र र डायलाइसिस सेवा उपलब्ध छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ