बाँकेमा मातृ मृत्यु दर बढी

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


खजुरा (बाँके) । लुम्विनी प्रदेशमा एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउने गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नेपालगञ्जमा आयोजजित अन्तरक्रियामा तथ्याङ्क अधिकृत मानबहादुर ओलीले देशभर भने प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरे । लुम्बिनी प्रदेशमा भने ७६ हजार दुई सय ४३ जीवित जन्ममा एक सय ५८ जना आमाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही रहेको उनले बताए ।

तथ्याङ्क अधिकृत ओलीका अनुसार एक सय ५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा सात÷सात जना, प्यूठान र रोल्पामा छ÷छ जनाको मृत्यु भएको छ । सबैभन्दा कम रूकुमपूर्वमा एक जना आमाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु हुने सङ्ख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र पाँच प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ ।

मातृ मृत्यु दर सबैभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ । जन्म पश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९÷८० मा प्रदेशमा पाँच सय ८० नवजात शिशुहरूको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमामा गर्भ अवस्थाबाटै रक्त अल्पताको समस्या रहेको पाइएको छ । आठ पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने भए पनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्याङ्क रहेको र त्यसमा पनि सात प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको तथ्याङ्क अधिकृत ओलीले बताए ।

भेरी अस्पतालमा सुत्केरीको चापले गर्दा शय्या नपाउने समस्या र बर्थिङ सेन्टरहरुमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाइरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरेका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट जटिल अवस्थाका सुत्केरी भेरी अस्पतालमा आउने भएकाले सुत्केरीलाई सहजै शय्या उपलब्ध गराउन समस्या भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । पश्चिम नेपालको रेफरल सेन्टरका रुपमा रहेको भेरी अस्पतालमा छुट्टै प्रसूति गृहको आवश्यकता रहेकाले यसका लागि तीनै तहको सरकारले चासो लिनुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका परिवार नियोजन पर्यवेक्षक डा कौशल भण्डारीले जनस्वास्थ्य सेवा ऐन २०७५ बारे प्रस्तुतीकरण गर्नुभएको थियो । बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा छ जना नेपालगञ्ज उपमहानगरपालिकाका छन् भने छ जना विभिन्न गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले बताए ।

कार्यक्रममा नेपालगञ्ज नगर उपप्रमुख कमरुद्दिन राईले आममानिसमा सचेतना बढाउँदै सहज स्वास्थ्य सेवाको पहुँच बृद्धि गरे मातृशिशु मृत्युदर कम गर्न सकिने बताए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद गिरीले लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्यु बढी भएका स्थानीय तहमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपत्कालीन अवस्थाका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन गरिए पनि घरमै सुत्केरी हुँदा मातृ मृत्युदर उच्च हुने गरेको बताए ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न