धनगढीको डुबान समस्या सधान गर्ने नाली निर्माणको भुक्तानी दिन बजेट अभाव
पढ्न लाग्ने समय :
धनगढी : धनगढी–अत्तरिया ६ लेन सडकमा नाली निर्माणको भुक्तानी दिन बजेट अभाव भएको छ। ६ लेन सडकको धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ खण्डमा गत वर्ष माघदेखि नाली निर्माण कार्य सुरु भए पनि बजेट अभावका कारण सुस्ताएको छ।
६ लेन सडकको धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ मा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न गत वर्ष असार २० गते ठेक्का सम्झौता भएको थियो। सहरी विकास आयोजनाले मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाली निर्माण अघि बढाएको छ। तर, बजेट अभावको कारण देखाउदै निर्माण कम्पनीहरुले काम गर्न नसकेको निर्माण कम्पनीका इन्जिनियर दिनेश बटालाले बताए। उनले भने, ‘नाली निर्माणको काम रोकिएको छ। दशैँ अगाडी ८० लाखको बिल पेस गरेका थियौ। ५० लाख मात्र भुक्तानी पाएका छौ। बजेट नभएकाले काम गर्न समस्या भएको हो। हामीले पेस गरेको बिल अनुसारको भुक्तानी पाएका छैनौ।’
६ लेन सडकको पूर्वतर्फ एक हजार तीन सय ६५ मिटर लामो नाली निर्माणको लागि सनराइज, चन्द्र विकास, मष्टा जेभीले ६ करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको छ। हालसम्म २ करोड ८२ लाख भुक्तानी पाएको बताइएको छ। निर्माण कम्पनीले हालसम्म ७५ प्रतिशत काम पूरा भएको भन्दै एक करोड ४० लाखको बिल पेस गरेको छ। तर, सहरी विकास आयोजनासँग बजेट अभाव भएको सहरी विकास आयोजनाका सूचना अधिकारी सौरभ कलौनीले बताए। उनले भने, ‘हामीले अन्य स्रोतबाट रकमान्तरको लागि पठाएका छौ। अर्थ मन्त्रालयमा पुगेको छ। स्वीकृत भएको छैन।’
त्यस्तै, सडकको पश्चिम किनारामा नाली निर्माणको लागि एमबी, शुभलक्ष्मी, आदर्श जेभीले सात करोड ४४ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको छ । कम्पनीले हालसम्म चार करोड ३७ लाख भुक्तानी लिएको छ। बजेट अभाव भएकोले निर्माण कम्पनीले पेस गरेको थप २ करोडको बिल अझै भुक्तानी भएको छैन। उनले भने, ‘७५ प्रतिशत बढी काम भएको छ। २ करोड भुक्तानी दिन बाँकी छ। बहुवर्षीय कार्यक्रम हो। रकमान्तरको प्रस्ताव गरेका छौ।’
धनगढी अत्तरिया ६ लेन सडकको दुवै किनारामा निर्माणाधीन नाली आगामी वर्ष बैशाख १६ गतेभित्र पुरा गर्नुपर्ने सम्झौता रहेको छ। धनगढी डुबान समस्या समाधान गर्ने नाली निर्माणको योजनामा काम गरेका निर्माण कम्पनीहरूले भुक्तानी पाउन समस्या देखिएको हो।