जुम्लामा घट्दै क्षयरोगका बिरामी

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


जुम्ला । यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले  जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीन जनाको मृत्यु भएको जानकारी दिए ।

चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एक जनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा १२, तिलामा १३, तातोपानीमा १४, पातारासीमा १८ र चन्दननाथमा २६ जना रहेका छन् ।

कार्यालय प्रमुख सापकोटाका अनुसार आव २०८०/८१ को साउनदेखि माघसम्मको तथ्याङ्क हेर्दा सिञ्जामा तीन, गुठीचौरमा चार, तातोपानीमा छ, तिलामा छ, पातारासीमा सात, कनकासुन्दरीमा सात, हिमामा नौ र चन्दननाथमा १० जना क्षयरोगीका बिरामी दर्ता भएका छन् ।

नेपाललाई क्षयरोगमुक्त अभियान सरकारले सञ्चालन गर्दै आएको छ । आगामी पाँच वर्षभित्र यस अभियानलाई राष्ट्रिय क्षयरोग कार्यक्रमले देशभरका सबै स्थानीय तहमा विस्तार गरी लागू गर्ने योजना सरकारको रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले बताए ।

दुई हप्ताभन्दा बढी खोकी लागेमा क्षयरोग हुन सक्छ । खोग्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कुनै लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा निःशुल्क जाँच गर्न सकिन्छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट पनि सर्दछ । एचआइभी र मधुमेह भएका बिरामीलाई क्षयरोगले छिटो सङ्क्रमण हुने गरेको छ ।

श्वास–प्रश्वास, खोक्दा, हाच्छिउँ गर्दा, जहाँ पायो त्यहीँ थुक्दा, बोलचाल गर्दा क्षयरोगका जीवाणु हावाका माध्यमबाट स्वास्थ्य व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न सकेमा क्षयरोगबाट बच्न सकिने र स्थानीय तहले गाउँ केन्द्रित क्षयरोगको शिविर सञ्चालन गर्न आवश्यक रहेको बताए । जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग सहकार्य गरेर क्षयरोग पूरै रोकथाम गर्नेका लागि जनचेतनाका कार्यक्रम र स्वास्थ्य जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य परामर्श गर्न आवश्यक रहेको प्रमुख आचार्यको भनाइ छ ।

क्षयरोग रोकथाम गर्नका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । आवश्यक सचेतनाका कार्यक्रम सञ्चारकामाध्यमबाट सहज रूपमा प्रकाशन र प्रसारण गर्न सकिने नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ