खुटिया सिँचाइ आयोजना ४४ वर्षदेखि अलपत्र, नेताहरू निर्वाचनमा मात्र सम्झदै
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको खुटिया सिचाई आयोजना ४४ वर्षदेखि अलपत्र अवस्थामा छ।
खुटीया सिँचाइ आयोजनाको पाँच किलोमिटर मुख्य नहर र बाँकी २० किलोमिटर शाखा नहरका लागि सरकारले ४४ वर्षअघि जग्गा अधिग्रहण गरेको थियो। नहरका लागि सरकारले ३० मिटर जग्गा मुआब्जा तिरेर अधिग्रहण गरेको भएपनि ४४ वर्षदेखि आयोजना अलपत्र अवस्थामा छ। नहरमा अहिले पानी नै बग्दैन। स्थानीय किसान धनबहादुर चौधरीले भने, ‘पानी जोनापुरसम्म मात्र आएको हो। बर्खाको समयमा मात्र यो नहरमा पानी आउछ। हाटखोलीबाट पानी आउदैन। पहिला आधा मात्र काम गरे। कसैले नहरमा घर पनि बनाएका छन्। नहर मासेका छन्। तर, जमिन लगतकट्टी गरेको छ। केही ठाउँमा सडक पनि बनाएको छ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ र ६ तथा गोदावरी नगरपालिका वडा नम्बर ८ का किसानलाई सिँचाईँ सुविधा उपलब्ध गराउन निर्माण भएको नहरको दुवैतिर सामान्य सडक निर्माण गरिएको छ। धनगढी उप-महानगरपालिका र गोदावरी नगरपालिकाको एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगाउने उद्देश्यले आर्थिक बर्ष २०३७/०३८ सालमा खुटिया सिँचाई आयोजना सुरु भएको थियो। तर, आयोजना निर्माणको काम पूरा नहुँदै आयोजना अलपत्र परेको स्थानीयको भनाई छ। आयोजना सम्पन्न नहुँदै निर्माण अलपत्र परेपछि नहरका लागि सरकारले अधिग्रहण गरेको जग्गामा अहिले अधिकांशले घर निर्माण गरेका छन् भने केहीले खेतीपाती गरिरहेका छन्।
खुटिया सिँचाई आयोजनाको मुख्य नहर र शाखा नहर निर्माणको काम पुरा भईसकेको थियो। खेतमा पानी पुगाउन कुलो निर्माण र हाटखोली नजिक बाँध निर्माणको काम भने सुरु भएको थिएन । सरकारले कुलो निर्माण आफ्नै लगानीमा गर्न खोजेपछि अन्तरराष्ट्रिय सस्थाले आयोजनाबाट हात झिकेको बताइन्छ। स्थानीय बासिन्दा पनि खुटिया सिँचाई आयोजना प्राथमिकतामा नपरेको गुनासो गर्छन्। अहिले उनीहरूले दल तथा उम्मेदवारहरुसँग खुटियाको बारेमा कुरा उठाउने गरेका छन्। उनले भने, ‘चुनावका बेला मात्र यो विषय उठान हुन्छ। अरुबेला काम हुँदैन। नहर भएको भए, धेरै राम्रो हुने थियो। बोरमा पनि पानी आउदैन।’
धनगढी उपमहानगरपालिका–वडा नम्बर ११ घुडसुवा, वडा नम्बर ६ बेला, गोदावरी नगरपालिकाको जमुनाभाडी लगायतका क्षेत्रहरुका किसानका लागि खुटिया सिँचाइ आयोजना महत्वपूर्ण रहेको स्थानीय भजुरा रानाले बताए। उनले भने, ‘नहरमा पानी आउदैन। खाली परेको छ। हामीले निजि बोर गरेका छौ। बोरबाट सिँचाइ गर्ने गरेका छौ। नेताहरू मात्र परिवर्तन भएका छन्। तर, हाम्रो नहर भएको छैन।’
कैलाली क्षेत्र नम्वर ४ का पूर्व सासंद लेखराज भट्टले निर्वाचन घोषणापत्रमा खुटिया सिँचाइ आयोजना सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तर, सो प्रतिबद्धता घोषणापत्रमै सीमित हुन पुग्यो। अहिले फेरि निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारहरूले खुटिया सिँचाइ आयोजना निर्माणको प्रतिबद्धता व्यक्त गर्न थालेका छन्।