सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
पढ्न लाग्ने समय :
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको शनिबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।
गत जेठ १८ गते प्रदेश प्रमुख नजिर मियाँले सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिपक्षी दलले भने सरकारको नीति तथा कार्यक्रमप्रति असहमति जनाएका थिए ।
नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको विषयमा जवाफ दिदै मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमका सन्दर्भमा आएका सुझावलाई बजेट वक्तव्यमा समेट्ने बताए। उनले नीति तथा कार्यक्रमका सवालमा प्रदेश सभामा ठुला विमति वा असहमतिका शब्द नसुनिएको भन्दै सबैलाई धन्यवाद दिए।
विपक्षी दलका नेताले नीति तथा कार्यक्रम मलेसिया र सिङ्गापुरको जस्तो भएको तर बजेट सुडान र सोमालिया जस्तो नहोस् भनेर टिप्पणी गरेका थिए । मुख्यमन्त्री शाहले भने “साँच्चै भन्ने हो भने यो हामी सबैले नीति तथा कार्यक्रमको सन्दर्भमा प्रतिपक्षी दलका नेतासहित सम्पूर्ण प्रदेश सभा सदस्यले दिएका सुझावलाई गम्भीरतापूर्र्वक लिएको मुख्यमन्त्री शाहले बताए। उनले योजना आयोजना छनोट गर्दैैगर्दा प्रदेश सभा सदस्यले गरेको सहयोग, दिएको सुझाव अनुसार बजेट कार्यक्रम आउने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री शाहले कालापानी, रानीसैन घटनासहित ऐनमा भएका व्यवस्थापनका कुराको सन्दर्भमा, राजधानी निर्माणलगायतका विषयमा उठेका कुराबारे भोलिका दिनमा सबैसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले प्रदेश सभामा उपस्थित भई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकोमा प्रदेश प्रमुखलाई धन्यवाद पनि दिए।