राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

Thursday March 14, 2024

पढ्न लाग्ने समय :


ढोरपाटन (बागलुङ) । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् ।

राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो । दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ ।

गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा दुई करोड २० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ । बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट बञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई राजमार्गसँगको पहुँच बढाएको उहाँको भनाइ छ । यो सडकले बरेङमा थुप्रै सम्भावनाको ढोका खोलेको अध्यक्ष शर्मा बताउँछन् । बुटवल तथा काठमाडौँ जानका लागि धेरै फेरो लगाएर पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ ।

उनले भने, “गलकोटतर्फको खण्ड धेरै वर्ष अगाडि खुलेको थियो, जसले मध्यपहाडी लोकमार्गमा पुग्न सहज बनाएको थियो, जैमिनीतर्फ खुलेको थिएन, करिब दुई किलोमिटर सडक गत वर्ष खुलाइयो, दुवैतर्फ सडक खुलेपछि दुई राष्ट्रिय राजमार्ग जोडिए, अब यहाँका नागरिकलाई देशका ठूला सहरमा जान समस्या हुने छैन, यहाँका किसानले उत्पादन भएका वस्तु बजारीकरण गर्नसमेत सहज हुनेछ, अब बरेङ पनि राष्ट्रिय सडकबाट टाढा भएन ।”

सो सडक करिब २० किलोमिटर छ । सडक स्तरोन्नतिका लागि रेसुङ्गा दर्शन अर्जुन÷श्रीकृष्ण जेभीले जिम्मा लिएको छ । गत पुसमा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए । यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ–ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उनको भनाइ छ । निमार्ण कम्पनीले तीव्रगतिमा काम गरेको हुँदा अब ग्राभेलमात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताए । निर्माण कम्पनीले विसं २०८१ वैशाख ३१ गतेसम्म काम सक्नुपर्ने उनको भनाइ छ ।

“निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ, अब धेरै काम बाँकी छैन, ग्राभेलिङ गर्न मात्रै छ, सडकलाई फराकिलो बनाउनेदेखि नाली बनाउनेसम्मको काम सकियो, यही रफ्तारमा काम गर्दै गयो भने समयमै सकिने सम्भावना छ”, इन्जिनियर थापाले भने, “काम थालेको पुसबाट हो, अहिले पनि कामदार परिचालन गरिएका छन् ।”


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको