भोजपुरको साल्पासिलिछो गाउँपालिकामा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो ।

गाउँपालिकाले स्थानीयरूपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै बाहिरबाट आउने सामग्रीको प्रयोग घटाउने उद्देश्यले यो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

तत्काललाई गाउँपालिका र सोअन्तर्गतका सङ्घसंस्था, विद्यालयलगायत अन्य निकायले आयोजना गर्ने कार्यक्रममा आयातित खादा, ब्याच र माला प्रयोग नगर्ने कार्यकालिका बैठकले निर्णय गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए ।

“हाम्रो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “अथिति सत्कार गर्नै परेमा स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको मात्र प्रयोग गर्ने निर्णय गरेको छ । यो निर्णयको मुख्य उद्देश्य नै सार्वजनिक कार्यक्रममा प्रयोग हुने खादालगायत बाह्य सामग्रीमा रोक लगाउने हो ।”

राज्य नै आयातमा निर्भर रहेको अवस्थामा यस्ता किसिमको निर्णयले राष्ट्रिय आयातमा समेत कमी ल्याउनमा केही टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । यो निर्णयमात्र पर्याप्त नभए पनि सबैले यस्ता बाह्य सामग्रीको प्रयोगमा कमी ल्याउन सके आयातमा कमी आउने प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

गाउँपालिकाले यसअघि तेह्रौँ गाउँसभामा पिपलको पातमा ब्याज बनाएर वितरण गरी सुरुआत गरिसकेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । “कार्यक्रममा अथिति सत्कारका लागि स्थानीय सामग्रीको प्रयोग गर्ने अभ्यासको थालनी गरेका छौँ”, उनले भने, “हुन त यो सामान्य निर्णयजस्तो देखिन्छ । तर यसले निकै ठूलो महत्व बोकेको छ । यो निर्णयले स्थानीय सामग्रीको प्रयोग गर्ने बानीको विकास गर्छ । सबैको सहमतिमा गाउँपालिकाबाट निर्णय गरेर लागू गरेको हौँ ।”

सार्वजनिक कार्यक्रममा अथिति सत्कारको बहनामा धेरै तडकभडक गरिँदा अनावश्यक खर्च बढ्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। यो निर्णयले सार्वजनिक कार्यक्रमको खर्चमा समेत कमी आउने अपेक्षा लिएको उनको भनाइ छ ।

“सार्वजनिक कार्यक्रमलाई मितव्ययी, सरल र सहज बनाउन यो निर्णय गरेका हौँ”, अध्यक्ष कुलुङले भने, “अथिति सत्कारका लागि प्रयोग हुने बाह्य सामग्रीले धेरै खर्च हुने गरेको अवस्था छ । जुन खर्च पूर्णरूपमा अनावश्यक हो । औपचारिक कार्यक्रममा स्थानीय सामग्रीको मात्र प्रयोग गर्ने हाम्रो उद्देश्य हो ।”

यो निर्णयले कुनै पनि समुदाय, सम्प्रदाय र धर्ममाथिको सद्भावमा आँच आउन नदिने गाउँपालिकाले जनाएको छ । विशेषगरी बौद्धधर्म मान्ने सम्प्रदायलाई यो निर्णय अनिवार्य नरहेको गाउँपालिकाको भनाइ छ । बौद्ध धर्म मान्ने सम्प्रदायले खादालाई पवित्र मान्ने र अथिति सत्कारमा प्रयोग गर्ने चलन रहेकाले उनीहरूका लागि प्रतिबन्ध नलगाइएको गाउँपालिकाले जनाएको छ ।

अन्य समुदायसँगै सङ्घसंस्थालाई पनि सम्भव भएसम्म अथिति सत्कारका लागि आयातित वस्तुको विकल्पमा स्थानीय सामग्रीको प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । यो कामले समाजमा हुने अनावश्यक तडकभडकलाई नियन्त्रण गर्नसमेत टेवा पुग्ने विश्वास लिइएको छ ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।