निजि कम्पनीहरुद्वारा आन्तरिक उडान बन्द
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।
मुलुकमा विषम परिस्थिति सिर्जना भएको भन्दै निजी वायुसेवा कम्पनीहरूले बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । सोमबारदेखि भएको जेनजी आन्दोलनपछि अहिले मुलुकको राजनीतिक अवस्था निकै तरल बनेको छ ।
निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीद्वारा बुधबार जारी एक विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र आन्तरिक उडानहरु पूर्ववत् सञ्चालनमा आउने उल्लेख छ ।
मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारण त्रिभूवन विमानस्थलहरूबाट हुने उडानहरु सबै बन्द गरिएको संघले जनाएको छ ।
संघले विज्ञप्तीमार्फत भनेको छ– त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल खुल्ले लगत्तै निजी वायुसेवा कम्पनीहरूले आआफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन ।
संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकोप्टर्स लगायत वायुसेवा कम्पनी सदस्य छन् ।