जेनजीको कामना– अब हामीले विदेश जान नपरोस्
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ २८ गते ।
जेनजी बिद्रोहका बलमा नयाँ सरकार बनेसँगै युवादेखि अधिकांस पक्षमा सकारात्मक धारणा देखिएको छ । शुक्रबार राती पूर्वप्रधानन्यायाधीस सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै खासगरी युवा पुस्ता निकै आशावादी देखिएको छ ।
भदौ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ६१ (४) अनुसार पूर्वप्रधानन्यायाधीस कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । शुक्रबार मध्य राती मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा समेत बिघटन गरिसकेका छन् । त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधि सभाको लागि निर्वाचन समेत घोषणा भइसकेको छ ।
अन्तरिम सरकार प्रमुखमा कार्कीको नियुक्तबारे खासै विवाद नभए पनि संसद बिघटनलाई भने प्रमुख दलहरू, नेपाल बार, संविधान तथा कानूनविद्हरू, अधिकारकर्मी, राजनीतिक विश्लेषणले तिखो प्रतिक्रिया देखाएका छन् ।
तर, युवाहरू तथा अन्य पक्षले मुलुकको वर्तमान परिस्थितिको निकासका लागि अन्तरिक सरकारको प्रमुखमा सुशीला कार्की नै उत्तम विकल्प भएको धारणा व्यक्त गरेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको संकट टरेको भए पनि भविष्यमा आउनसक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने औल्याए ।
अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक भएको जिकिर गरे । उनले युवाहरूको क्रान्तीको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाई छ ।