‘जडीबुटीको पहिचान र प्रयोग विधि सिकेपछि स्थानीय दङ्ग’

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


गोरखा । पहिलेपहिले औषधिका रुपमा स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोग गरिए पनि आजभोलि कमैले मात्र गर्ने गदैछन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतको पहुँच विस्तार भएसँगै सामान्यदेखि जटिल रोगको उपचारका लागि अस्पताल जानु अहिले सामान्य विषयवस्तु बनेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने जडीबुटीको सही तरिकाले प्रयोग गरी घरेलु उपचार विधिमार्फत विभिन्न रोगको सहजै निदान गर्न सकिन्छ भन्ने जानकारी पाएपछि गोरखा नगरपालिका–४ फिनामका स्थानीयबासी दङ्ग छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रमपछि स्थानीयस्तरमा पाइने जडीबुटीको प्रयोगले उपचार गर्न सकिन्छ भन्ने जानकारी पाएसँगै स्थानीय रुपा विक निक्कै खुसी भएको बताउँछन् । “तातोपानी वा तातो वस्तुले शरीरमा छाला जलेमा घरमै भएको घिउकुमारी प्रयोग गरेर पनि निको हुने रहेछ”, उनले भने, “अभिमुखीकरण कार्यक्रमबाट स्थानीयरुपमा पाइने कुन जडीबुटी कुन रोगको उपचारमा काम लाग्छ भन्ने थाहा पाउँदा सजिलो भएको छ ।”

स्थानीवासी सीता भट्टराईको घरको आँगनमा वर्षौँदेखि तुलसीको बोट छ । पूजा गर्नका लागि मोठ बनाएर रोपिएको तुलसी हरेक वर्ष हुर्कन्थ्यो, फुल्थ्यो र सुकेर खेर जाने गर्दथ्यो । सोही तुलसीको सेवनले रुघाखोकी, ज्वरो लगायतका विभिन्न रोग निको पार्न सकिन्छ भन्ने कुरा उक्त अभिमुखी कार्यक्रमपछि थाहा भएको उनको भनाइ छ ।

भट्टराईले तुलसीको सेवन गरेर कुन रोगको घरमै उपचार गर्न सकिन्छ भन्ने ज्ञान भएको बताए । “घरको आँगन र बारी वरपर खेर गइरहेको जडीबुटीलाई औषधिको रुपमा प्रयोग गर्नसके राम्रो फाइदा पुग्नेरहेछ”, उनले भने, “चिन्न र जान्नसके औषधि हाम्रै वरपर पनि प्रसस्त पाइने रहेछन् ।”

नचाहेर भन्दा पनि स्थानीयस्तरमा पाइने जडीबुटीका बारेमा जानकारी नहुँदा मानिसले यसको प्रयोगमा बेवास्ता गर्ने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ शाखाका प्रमुख प्रशान्त पण्डितले बताए । उनका अनुसार कतिपय अवस्थामा बिरामी भइहाले आकस्मिक उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने अवस्थामा, सामान्य खालका रोगको उपचार गर्न जडीबुटीको सेवन गर्न सकिन्छ ।

केन्द्रले गोरखा नगरपालिका फिनामका स्थानीयलाई प्रदान गरेको अभिमुखीकरण कार्यक्रममार्फत गुर्झो, वासुकी, गन्धेझार, सिकारी लहरा र जरा, हर्चुल, रानी सिन्का झार, बेलौटी, ल्वाङ, सुकुमेल, दालचिनी, अदुवा, तुलसी, घिउकुमारी, हिङ, जाइफल, बेसार, लसुनलगायत विभिन्न किसिमका जडीबुटीको प्रयोग र विधि सिकाइएको जनाएको छ ।

जडीबुटीको सेवनबाट उपचार गर्न सकिने रोगहरुमा आयुर्वेदिक तरिकाले उपचार गर्ने बानीको विकास गर्न सके कर्म खर्चिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक हुने आयुर्वेद शाखा गोरखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । स्थानीय जडीबुटीको पहिचान, प्रयोग र संरक्षण गर्न सके धेरै लाभ लिन सकिने उनको भनाइ छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको