घर निर्माणमा गुणस्तरीय सामग्रीको प्रयोगबारे सचेतना आवश्यकः मन्त्री दाहाल
पढ्न लाग्ने समय :
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठूला घरहरु गुणस्तरीय नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित घर निर्माण मेलामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्वपूर्ण हुने बताउनु भयो । उहाँले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताउनु भयो । घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘काठमाडौं वा देशका विभिन्न ठाउँमा बनेका ठूला ठूला घरहरु पनि गुणस्तरीय बनिरहेका छैनन् । गुणस्तरीय बनाउनु प¥यो, सामग्रीहरु गुणस्तरीय हुनु प¥यो । बलिया हुनु प¥यो सामग्रीहरु । ती सामग्रीहरुका कारणले गर्दा भोलि घरमा ठूला घरहरु बनाउने तर बनाइसक्दा चुहिन थाल्ने खालको पनि मैले देखेको छु । त्यसले गर्दा त्यो इन्जिनियरिङको पाटो पनि महत्वपूर्ण छ । हामी नेपालीहरुले धेरै जसो घरहरु बनाउँदा खेरी कति प्रतिशतले इन्जिनियरिङ कन्सल्ट्यान्ट राख्नुहुन्छ भन्दा सा¥है थोरैले मात्रै डिजाइनरको आधारमा गर्नुहुन्छ जस्तो मलाई लाग्छ । त्यसकारण जिन्दगी भरका लागि बनाउने घर इन्जिनियर र डिजाइनरसँग सल्लाह गरेर बनाउनु पर्छ भन्ने बारेमा सचेतना जगाउनु पर्छ ।’
उहाँले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्पप्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घर निर्माण भइसकेपछि गुणस्तर मापणमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।