गौरा पर्व : आज गौरादेवीलाई गौराघर भित्राइँदै
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ १४ गते ।
सुदूरपश्चिम प्रदेशको मौलिक धार्मिक, सांस्कृतिक पर्व गौराको तेस्रो दिन आज गौरादेवीलाई गौराघरमा भित्राइँदै छ । भदौ शुक्ल सप्तमीका दिन आज ब्रतालू महिलाहरूले भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ लाई विविधत रुपमा गौराघरमा भित्राउने चलन रहेको छ ।
ब्रतालु महिलाहरूले साँझ गौरादेवीलाई गौराघरमा भित्राउने छन् । ब्रतालु महिलाहरूले फाग गाउँदै राम्ररी सिँगारिएको गौरादेवीको प्रतिमूर्तिको पुजाआजा गर्दै गौराघरमा ल्याउने चलन रहेको छ । संस्कृतिका जानकार तथा सुदूरपश्चिाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार सप्तमीमा गौरादेवी र भगवान महेश्वरको प्रतिमूर्ति स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल तथा बिरुडाले पूजा गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो (दुबधागो) आज नै गौरादेवीमा चढाउने चलन रहेको छ ।
साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौरादेवीको प्रतिमूर्ति स्थापना गरिन्छ । सप्तमीको साँझ ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन पनि रहेको छ । गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति चोखो खाना खाने चलन छ ।
तस्वीर, फेसवुक