गृहमन्त्री लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग माग्यो जवाफ

पढ्न लाग्ने समय :

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले अनुसन्धानमा रहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।
उनले अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा गरेको बताए । उनले यसबाट अनुसन्धान प्रभावित हुने बताए । उनले भने, ‘यस परिस्थितिमा अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ । गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’
पाण्डेले गृहमन्त्री लामिछानेलाई ठूला माछा उम्काउने हतियार बनाउन लागिएको हो कि भन्दै आशंका व्यक्त गरे । उनले भने, ‘कतै तपाईंको पोजिसनलाई रक्षाकवच बनाएर एक/दुई करोड मात्रै अभियोग लागेका तपाईंलाई सिखन्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछा उम्काउने जानी नजानी हतियार त बनिरहनुभएको छैन ?’
सांसद पाण्डेले यस विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे ।