गगनकुमार थापाले कांग्रेसको सभापतिबाट दिए राजीनामा
पढ्न लाग्ने समय :
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।
२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ। तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
तत्कालीन सभापति देउवा र उनको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन डाकेका थिए। पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ।
काँग्रेसको १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ। सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए।
पार्टी र आफैंले समेत निर्वाचनमा व्यहोरेको क्षतिबाट तनावमा रहेका थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गरिरहेका थिए । समानुपातिकतर्फको परिणाम नआउँदै उनले राजीनामाको मनस्थिति बनाइसकेका थिए । २५ फागुनमा उपसभापति शर्मासँगको भेटमा नै थापाले राजीनामा दिनेबारे जानकारी गराएका हुन् । त्यसयता थापाले राजीनामा दिनुपर्ने र नपर्नेबारे दुवैथरी धारणा पार्टीभित्र नेताहरूले राख्दै आएका छन् ।