खेलबाट राष्ट्रको विकास गर्नुपर्छः सभामुख घिमिरे

पढ्न लाग्ने समय :
सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताउनु भयो । उहाँले खेललाई राज्यले दिनुपर्ने जति महत्व दिन नसकेको गुनासो समेत गर्नुभयो । उहाँले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरु रहेको बताउनु भयो । राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको बताउनु भयो । नेपालले केही समय यता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हाँसिल गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ । खेललाई राज्यले जति महत्व दिनुपर्दथ्यो । सायद पुगिरहेको छैन । तर राज्य भनेको हामी सबै मिलेरै हुन्छ । आज खास गरी झापा क्षेत्र नम्बर १ का माननीय विश्वप्रकाश शर्मा लगायतको सक्रियतामा आज यो कार्यक्रम भइरहेको छ । हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौँ भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ र राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिन्छ । नेपाल केही समय यता खेलकुदमा राम्रो प्रगति गर्दै आएको छ । त्यसमा पनि क्रिकेटमा विश्वस्तरमा हामी प्रवेश गरिरहेका छौँ । महिलाहरुको फुटबलमा साफ स्तरमा फाइनल पुगेका थियौँ । हाम्रो खेलकुदमा भविष्य सुन्दर छ, त्यसको लागि सबैले ध्यान दिनुपर्छ । खेलबाट राष्ट्रलाई अघि बढाउने गरी हामी अघि बढ्नुपर्छ ।’
सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको बताउनु भयो ।