कैलालीमा मतपत्रसहित निर्वाचन सामग्री आइपुग्यो
पढ्न लाग्ने समय :
धनगढीः कैलालीमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेका छन्। प्रदेश निर्वाचन कार्यालय कैलालीले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका मतपत्रसहितका सामग्री प्राप्त भएको जनाएको छ।
मङ्गलवारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितका सामग्री पु¥याउने तयारी तीव्र रूपमा अघि बढाइएको छ।
कैलालीका पाँच निर्वाचन क्षेत्रमा कुल पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन्। क्षेत्र–१ मा एक लाख आठ हजार ४९१, क्षेत्र–२ मा एक लाख सात हजार ७५७, क्षेत्र–३ मा एक लाख नौ हजार १२२, क्षेत्र–४ मा एक लाख १५ हजार १४३ र क्षेत्र–५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका छन्।
निर्वाचन सम्पन्न गर्न ५१ प्रकारका सामग्री आवश्यक पर्ने बताइएको छ। तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयमार्फत उपलब्ध गराइनेछ भने बाँकी १४ प्रकारका सामग्री केन्द्रबाट आपूर्ति गरिने व्यवस्था मिलाइएको छ। साथै, फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
निर्वाचन तयारीअन्तर्गत सुदूरपश्चिम प्रदेशभर सोमबारदेखि ७३४ जना मतदाता शिक्षा स्वयंसेवी परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। स्वयंसेवीहरूले विद्यालय र घरदैलो कार्यक्रममार्फत मतदातालाई सचेतना दिइरहेका छन्। यो कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन गरिनेछ।