कैलालीका ओली स्याउको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्दै

Tuesday July 7, 2026

पढ्न लाग्ने समय :


धनगढी : तराईमा यतिखेर गर्मी बढेको छ । गोकर्ण ओलीको बारी हरियालीसँगै लटरम्म फलेको स्याउ देख्दा जोकोहीलाई केही समय गर्मी विर्साइ दिन्छ ।
लगाएको एक वर्षमै फल्ने भए पनि बोट लगाएको पाँच बर्षपछि पूर्ण उत्पादन लिन मिल्ने भएपछि ओलीले केही बोटमा मात्र स्याउको दाना लाग्न दिए। उनले अर्को बर्षदेखि पूर्ण उत्पादन दिने बताए।
कैलालीको लम्कीचुहा नगरपालिका वडा –९ का ओलीले व्यावसायिक स्याउ खेती गरेर सबैलाई दङ्ग पार्नुमात्र भएको छैन, स्याउका बेर्ना, अम्बा र तरकारी, तरबुजा खेतीबाट आम्दानी गर्न थालेका छन ।
उनको बारीमा यतिखेर स्याउका बोट हुर्कदै, फल दिदैछन् भने स्याउ बारीमै घिरौला, कांक्रा, लौका लटरम्म फलेर बेच्नका लागि तयार भएका छन् । ओली भन्छन, “पाँच वर्षसम्म बोट हुर्काउन लाग्छ । त्यसबाट आम्दानी लिन नपाए पनि बोट हुर्काउँदै, स्याउका विरुवा तयार गरी, तरकारी, तरभुजा, अम्बा फलाएर बेचेर आम्दानी गर्ने गरेको छु । यही आम्दानीबाट खर्च व्यवस्थापन गर्न सजिलो भएको छ ।”
अहिले ओलीको बारीमै तरभुजा र तरकारी लिन गाडी पुग्ने गर्दछ । उनले गएको एक बर्षमा स्याउका पाँच हजार बेर्ना बेचेर ६ लाख ८० हजार रुपियाँ आम्दानी गरे। बेर्नाको माग धेरै राम्रो रहेको उनले बताए।
फागुनबाट फुल्न सुरु गरेको स्याउ असारसम्म खानका लागि तयार हुन्छ । ओलीको बारीमा स्याउ फल्न थालेको तीन वर्ष भयो, तर उनी अहिले फलबाट लाभ लिने भन्दा पनि बोट हुर्काउनमा व्यस्त छन ।
२०७८ सालबाट ओलीले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गरेका हुन । ओलीले लगाएको दुई बर्षमा स्याउ फल्न थालेको बताए। उनको बारीमा रहरलाग्दो स्याउ फलेपछि अन्य किसान समेत आकर्षित हुन थालेका छन् । उनले अहिले स्याउका बोट हुर्काउदै बेर्ना तयार गरेर आम्दानी लिन थालेको उनले बताए ।
४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुने एचआरएमएन (हर्मन)–९९ जातको स्याउको बोट भारतबाट ल्याएर ओलीले खेती गरेका हुन। भारतको उत्तर प्रदेश हरियाण, पन्जाब लगायतका ठाउँमा व्यावसायिक स्याउखेती हुने गरेको उल्लेख गर्दै ओलीले भने “मैले हिमाञ्चल प्रदेशको विशालपुर जिल्लाबाट बिरुवा ल्याएर खेती गरेको हुँ ।”
आफैले बेर्ना तयार गर्ने ओलीले रुटका लागि नेपालको जुम्लामा फल्ने स्याउको हाँगा प्रयोग गर्नुपर्छ । रुटको समस्याले गर्दा बेर्ना धेरै उत्पादन गर्न नसकेको उनले बताए ।
पछिल्लो समय विभिन्न पालिकाले बेर्ना किनेर किसानलाई अनुदानमा दिने प्रचलनले पनि ओलीकोमा स्याउका बेर्नाको माग बढेको छ । स्याउका बेर्ना लिन किसान ओलीकै बारीमा पुग्ने गर्दछन् ।ओलीको स्याउबारीमा दानाका लागि छानिएका बोटमा धान्न नसकिने स्याउका दाना राताराता हुन लागेका छन् । स्वादपनि मिठो र रसिलो छ । तराईमा व्यावसायिक स्याउ खेती गरेर स्याउ फलाउन ओली सम्भवतः पहिलो किसान हुन।
उनको स्याउबारीमा थोपा सिँचाइको सुविधादेखि घेरबार गरी व्यवस्थित गरिएको छ । यसमा कृषि ज्ञान केन्द्र र प्रदेश सरकारले समेत सहयोग गरेको ओलीको भनाइ छ ।
स्याउको बिरुवा पाँचबर्ष पुगेपछि पूर्ण उत्पादन दिन सुरु गर्छ । ओलीले एउटा बोटले पचास किलोदेखि ८० किलोसम्म उत्पादन दिने बताए। तराईमा पानीजम्ने हुँदा बर्षातमा केही समस्या हुने उल्लेख गर्दै ओलीले भविष्यमा कैलालीको चुरे क्षेत्रमा व्यावसायिक खेती बढाउने योजना रहेको सुनाए।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक