उपभोक्ता ऐनअनुसार मूल्य निधारण भए/नभएको यकिन जानकारी सात दिनभित्र पेश गर्न सिमेन्ट उत्पादकहरुलाई सरकारको आग्रह

पढ्न लाग्ने समय :

पछिल्लो समय सिमेन्टमा बढेको मूल्य घटाउने विषयमा सिमेन्ट उत्पादक संघ र उद्योग मन्त्रालयबीच छलफल भएको छ । आईतावार सिंहदबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगी मन्त्रीले अस्वभाविक रुपमा बढेको सिमेन्टको मूल्य कम गर्न उद्योगीहरुसँग आग्रह गर्नुभएको हो । निर्माण व्यवसायीहरुले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सरकारलाई समेत केही सिमेन्ट कम्पनीहरुले सिमेन्टको मूल्यमा २ सय रुपैयाँ वृद्धि गरेको भन्दै उजुरी दिएकाले व्यवसायीहरुसँग सरकारले छलफल अगाडि बढाएको हो । अन्तर्राष्ट्रिय स्तरमा कुनै कुराको मूल्य वृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका कारण भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको व्यवसायीले गुनासो गरेका थिए ।
उनीहरुको गुनासो सम्बोधन गर्ने हिसाबले उद्योग मन्त्रालयले सिमेन्ट उत्पादकहरुसँग छलफल गरेको हो । छलफलपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले विभागमा एक हप्ता देखि धेरै उजुरी परेकाले मन्त्रालयमा व्यवसायीहरुसँग छलफल गरिएको बताउनु भयो । उहाँले मन्त्रालयमा सिमेन्ट उत्पादकहरुका कुरा पनि सुनिएको बताउनु भयो । उहाँले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २१ बमोजिम मूल्य निर्धारण भए÷नभएको सत्य तथ्य सात दिनभित्र पेश गर्न समय दिएको बताउनु भयो । सात दिनभित्र के कारणले सिमेन्टमा २ सय रुपैयाँ मूल्य वृद्धि गर्नुपर्ने आधार र कारण सहित पेश गर्न निर्देशन लिएको उल्लेख गर्नुभयो ।
यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भने व्यवसायीहरुले काटेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि नगराएको जानकारी दिनुभयो । उहाँले सिमेन्टको उत्पादन लागत बढेको अवस्थाको कारण मूल्यवृद्धि भएको बताउनु भयो । उहाँले विगतमा उत्पादन लागत भन्दा कममा बिक्रि भइरहेकाले मूल्य वृद्धिको आभास नभएको बताउनु भयो । उहाँले निर्माण कार्य शुरु भएपछि सिमेन्टको मूल्य वृद्धि भयो भन्ने आरोप गलत भएको बताउनु भयो । उहाँले बजारमा माग र सप्लाईको बीचमा ब्यालेन्स नहुँदा पनि व्यवसायीहरुले मूल्य समायोजन गर्नुपरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ सिमेन्टको मूल्यमा व्यवसायीहरुको काटेलिङ गरेका छैनौं । मुल्यवृद्धि भएको छ । सिमेन्टको उत्पादन लागत बढेको अवस्थाको कारण मूल्यवृद्धि भएको हो । विगतमा उत्पादन लागत भन्दा कममा बिक्रि भइरहेको थियो । निर्माण कार्य सुरु भएपछि सिमेन्टको मूल्य वृद्धि भयो भन्ने आरोप गलत हो । माग र सप्लाईको बीचमा ब्यालेन्स हुन्छ । नेपालमा सिमेन्ट उत्पादनको क्षमता वार्षिक २५ मिलियन टन हो । तर ७ मिलियन भन्दा बढी खपत हुन सकेको छैन । माग र सप्लाईको बीचमा ठूलो खाडल रहेको कारणले पनि मूल्यवृद्धि भएको हो । उद्योग मन्त्रालयको छलफलमा सिमेन्ट उत्पादकहरुलाई मूल्य कम गर्न आग्रह गर्नु भयो । मूल्य वृद्धि भन्दा पनि अहिले मूल्य समायोजन भएको हो ।’
उहाँले नेपालमा सिमेन्ट उत्पादनको क्षमता वार्षिक २५ मिलियन टन भए पनि ७ मिलियन भन्दा बढी खपत हुन नसकेको बताउनु भयो । उहाँले माग र सप्लाईको बीचमा ठूलो खाडल रहेको कारणले पनि मूल्यवृद्धि भएको भन्दै सरकारले भने जस्तो मूल्य कम गर्ने बारे उद्योगीहरुसँग छलफल गरिने बताउनु भयो ।