उपचारको पहुँचबाट बाहिरै छन् क्षयरोगी

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


बाँके । जनचेतनको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै पनि क्षयरोगका बिरामी उपचारको पहुँच बाहिरै रहेका छन् ।

सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । “जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्”, स्वास्थ्य कार्यालय बाँकेका क्षय–कुष्ठ रोग स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले भने, “ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौतीपूर्ण रहेको छ ।”

चालू आर्थिक वर्षको सात महिनामा मात्रै बाँकेमा पाँच सय ३९ क्षयरोगीको पहिचान भएको स्वास्थ्य कार्यालयका क्षय–कुष्ठ रोग स्रोत व्यक्ति शाहले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगञ्जकै रहेका छन् ।

नेपालगञ्जमा एक सय ६३ नयाँ क्षयरोगी पत्ता लागेका छन् । समुदायमा अझै पनि क्षयरोगीप्रति घृणा र लाञ्छना रहेकाले पनि रोगीहरु लुकेर बस्ने गरेको पाइएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए।

“अझै पनि समाजमा क्षयरोगीप्रति हुने घृणा र लाञ्छना कायमै रहेको छ”, चन्दले भने, “क्षयरोगमुक्त अभियानमा समाजका सबै सरोकारवाला व्यक्ति र स्वयं बिरामी लाग्न जरुरी छ ।”

बाँकेमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक हजार एक सय दुई क्षयरोगी पत्ता लागेका थिए । त्यसमध्ये नेपालगञ्जमा सबैभन्दा बढी तीन सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गत शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए ।

क्षयरोगका बिरामीको निःशुल्क उपचार गर्ने सरकारी नीतिअनुसार नेपालगञ्ज–४ सल्यानीवागमा नेपाल सरकारसँगको साझेदारीमा क्षयरोग प्रेषण केन्द्र सञ्चालन हुँदै आएको छ ।

क्षयरोग प्रेषण केन्द्रमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र नेपालगञ्जका प्रबन्धक हिक्मतबहादुर खड्काले बताए ।

‍भाडाको भवनमा सञ्चालित प्रेषण केन्द्रमा ४५ शय्यामा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको प्रबन्धक खड्काले बताए । प्रेषण केन्द्रमा ३५ देखि ४० बिरामी नियमितरुपमा उपचार प्रक्रियामा रहँदै आएको उनको भनाइ छ ।

“टिबी परीक्षणका लागि चाहिने उपकरण भए पनि उपकरण राख्ने कोठा छैनन्, बिरामीका कुरुवा बस्ने ठाउँ, शौचालय र पार्किङ व्यवस्थित गर्न सकिएको छैन”, खड्काले भने, “बजेट अभावमा अस्पताल सञ्चालनका लागि चाहिने मापदण्ड पूरा भएको छैन ।”

सरकारले टिबी नेपालसँग सहकार्य गर्दै २०५२ सालदेखि नेपालगञ्जमा भाडाको घरमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यहाँ वार्षिक ३५ हजारभन्दा बढी मानिस क्षयरोगको परीक्षण गर्न आउँछन् । अहिले मासिक रु ८० हजार भाडामा अस्पताल सञ्चालन गर्दै आएको प्रबन्धक खड्काले बताए ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको