आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

Wednesday August 23, 2023

पढ्न लाग्ने समय :


कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे ।साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए ।

बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् ।नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । “नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ”, सुनारले भने, “डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।”

बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् । हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए ।

“विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्”, उनी भन्छन्, “नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।”

डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार–प्रसारका लागि कार्यक्रम गर्ने भएको छ ।

“डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ”, ढुङ्गाना भन्छन्, “स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिनमात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।”

भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ ।

“हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ”, उनले भने, “हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।” यस वर्ष वर्षात् ढिलो हुँदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए ।

नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । “कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ”, स्थानीय कृष्णा चौधरी भन्छन्, “यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।”

डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् ।

स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो ।

कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् ।


भर्खर

धनगढीमा एक जनाले गरे श्रीमतीको हत्या

धनगढी :  धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र