अहिले जुनसुकै उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छः डा. शिवजीविक्रम सिलवाल

Saturday January 18, 2025

पढ्न लाग्ने समय :


जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । न्युज  नेपालसँगको कुराकानीमा अल्का अस्पतालका मुटुरोग विशेषज्ञ  डा.शिवजीविक्रम सिलवालले ६० प्रतिशत मुटुको चाल भन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुरोगको समस्या भन्ने बुझेर अस्पताल जानुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय २०÷२२ वर्षमै हृदयघातको समस्या बढ्नुले चिन्ता थपिएको बताउनु भयो । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको बताउनु भयो । प्रश्तुत छः न्युज  नेपालले अल्का अस्पतालका मुटुरोग विशेषज्ञ एवं कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. शिवजीविक्रम सिलवालसँग गरेको कुराकानीनको सम्पादित अंश ।
प्रश्नः मुटु रोग भनेको के हो, यसभित्र के–के पर्दछन्, कस्तो अवस्थालाई मुटु रोग भनेर बुझ्ने गरिन्छ ?
जवाफः मुटु अस्वस्थ हुनुलाई मुटु रोग भनिन्छ । सामान्यतः मुटुको चाल ६० प्रतिशत हुन्छ । त्यसभन्दा कम गतिमा मुटुको धड्कन भइरहेको छ भने त्यसलाई मुटुको समस्या भन्ने गरिन्छ । अर्को भल्बको समस्या हुन्छ । त्यसैगरी कोरोनरी आर्की रोगहरू भन्ने हुन्छ । जब नशा ब्लकेज हुन्छ त्यसलाई चाहीँ हृदयघात भनिन्छ । र कसैको जनमजात रुपमा मुटुमा प्वाल हुन्छ । मुटुसम्बन्धी सम्पूर्ण समस्याहरुलाई नै मुटु रोग भनिन्छ ।
प्रश्नः मुटुसम्बन्धी अन्य रोगहरु त छँदैछन्, पछिल्लो समय हृदयघातका बिरामीहरु बढ्दै गएको देखिन्छ, युवा अवस्थामै पनि हृदयघात हुने समस्याहरु देखिएका छन् नि ?
जवाफः सही भन्नुयो । पहिले हामीले कितावमा पढेअनुसार हृदयघात ३० वर्षभन्दा तल हुँदैन भन्ने थियो । र मैले देखेको पनि थिइन । तर पछिल्लो समय सन् २०१० देखि अहिलेसम्म आउँदाखेरि अहिले उमेरले केही पनि फरक पारेको देखिँदैन । अहिले २०÷२२ वर्षमै हार्टअट्याक भएको छ । महिलाहरुमा चाहीँ महिलाहरुमा महिनावारी नरोकिउन्जेलसम्म हृदयघात हँुदैन भनिन्थ्यो । तर अहिले त्यसमा पनि हृदयघात देखिएको छ । त्यसैले अहिले जुन उमेरका मान्छेलाई पनि हृदयघात हुनसक्छ । यसमा खानपान र स्टे«सले प्रभाव पारेको देखिन्छ ।
प्रश्नः खानपान र हृदयघातबीचको सम्बन्ध चाहीँ कस्तो हुन्छ ?
जवाफः हृदयघात हुने मुख्य कारण धुम्रपान सेवन हो । अर्को, कोलेस्ट्रोलमा लेभल नहुने हो । तेस्रो, सुगर, प्रेसर र बुबा आमा तथा परिवारको सदस्यहरुलाई हृदयघात भएको छ भने छोराछोरीलाई हुने सम्भावना चाहीँ बढी हुन्छ । त्यसकारण हामीले यी कुराहरुमा ध्यान दिनुपर्छ । धुम्रपान सेवन गर्छौं भने त्यो नगर्ने । प्रेसर छ भने प्रेसरलाई नियन्त्रण गर्ने, नियमित रुपमा औषधि सेवन गर्ने, शारीरिक अभ्यास गर्ने, सुगर नियन्त्रण गर्ने गर्नुपर्दछ । परिवारका अन्य सदस्य तथा आमाबुबालाई भएको हृदयघात त हामीले रोक्न सक्दैनौं । जिनमा आइसकेको हुनाले समय समयमा शारीरिक परीक्षण गर्ने गर्नुपर्दछ ।
प्रश्नः सामान्यतया मुटुमा कस्तो लक्षण देखिएको अवस्थामा उसलाई मुटुसम्बन्धी रोगहरु छ भनेर बुझ्ने ?
जवाफः हिजो सकुसल देखेको मान्छे आज हृदयघातबाट निधन भएको समाचारहरु सुनिन्छन् । वयस्क उमेर भइसकेपछि वर्षको तीन पटक लिपिड प्रोफाइल, इको कार्डियोग्राफी, टिएमटी र अन्य जाँचहरु गर्ने गर्नुपर्दछ । कस्तो लक्षण देखियो भने अस्पताल जाने भन्ने सन्दर्भमा शरीरमा कमजोरी महशुस भएपछि जानुपर्दछ । अब हृदयघातको कस्तो लक्षण हुन्छ भन्दाखेरी छाती दुख्ने, देब्रे छाती दुख्ने, छाती भारी हुने, दुखाई सरेर चिउँडोतिर र कुइनातिर जाने र अत्याधिक पसिना आउने र छातीको दुखाई खपि नसक्नु हुने लक्षण आयो भने अस्पताल जाने । अर्को, पेट दुख्ने समस्या पनि हुन्छ । ग्यास्ट्रिक भनेर हेलचेक्राँई गर्नु भएन । हामीले सामान्य जाँच गर्दा पनि हृदयघात हो कि ? होइन भनेर थाहा पाउन सक्छौं । अन्य कुराहरु त चिकित्सकहरुले गरिहाल्नु हुन्छ ।
प्रश्नः मौसम परिवर्तनसँगै चिसो बढेपछि मुुटुको संक्रमण बढ्ने हो ?
जवाफः जाडो महिनामा हाम्रो शरीरबाट पसिना बग्दैन । गम्भिर महिनामा हामीले गर्ने विभिन्न क्रियाकलापले गर्दा पसिना बग्ने हुन्छ । जाडो महिनामा अलिकति अल्छिपना पनि बढ्छ । त्यसकारण गर्मीको तुलनामा जाडोमा प्रेसर अलिकति बढ्छ । जाडो महिनामा हामीले खाने खानेकुराहरु पनि अलिकति बढी खाइन्छ । शारीरिक अभ्यास कम हुन्छ । यस्तो अवस्थामा गर्मी महिनाको तुलनामा चिसो महिनामा मुटुसम्बन्धी रोग रोगहरु बढी लाग्ने सम्भावना बढी हुन्छ ।
प्रश्नः मुटु रोगको बढी जोखिममा कुन उमेर समूह रहन्छ ?
जवाफः उमेर भन्दापनि प्रेसर र सुगरका बिरामी तथा धुम्रपान सेवन गर्ने मान्छेहरुलाइ मुटु रोग बढी हुने सम्भावना रहन्छ । अर्को स्टे«स भएका मान्छेलाई मुटु रोग बढी लाग्ने हो ।
प्रश्नः धुम्रपान तथा मद्यपान सेवन नगर्ने मान्छेलाई पनि मुटु रोग लागिरहेको भन्ने सुनिन्छ, तर नियमित धुम्रपान सेवन गर्ने मान्छेलाई मुटु रोग नलागेको पनि देखिन्छ, यसले केही विरोधाभास भएको देखिन्छ नि ?
जवाफः हाम्रो समुदाय धेरै फरक छ  । सबैको खानपान एउटै त छैन नि । कतिले खानपानमा माछामासु खाने गर्नुहुन्छ कति जना भेजेटेरियन हुनुहुन्छ । बाहिरबाट हेरेर सबै कुरा त थाहा हँुदैन नि । त्यसको लागि त स्वास्थ्य परीक्षण गर्नुप¥यो नि  । बाहिरबाट हेरेर प्रेसरको पनि  लक्षण देखिँदैन । कसैको मुटु सुन्निन थालेको हुन्छ । त्यसकारण हामीले बाहिरबाट हेरेर होइन कि जाँच गरेर हेर्नुपर्दछ । जहाँसम्म तपाईले कतिपय मान्छेलाई धुम्रपान तथा मद्यपान सेवन गर्दा पनि हृदयघात नभएको तर त्यसो नगर्ने मान्छेलाई भएको भनेर भन्नुभयो । त्यसमा मान्छेको शरीरिमा संरचनामा समेत भर पर्दछ । स्वास्थ्य परीक्षण दुवै प्रकारका मान्छेका लागि उत्तिकै महत्व छ ।
प्रश्नः मुटुको सुरक्षा कसरी गर्ने ?
जवाफः मुटुलाई माया गर्नको लागि जिब्रो र मुखलाई माया नगर्ने । नुनिलो कम खाने, चिल्लो कम गर्ने  लगायत कामहरु गर्नुपर्छ । मुटुलाई माया गर्नको लागि तपाई कतै घुम्न जानुभएको छ भने त्यहाँ एकै दिन सबै प्रकारका खानेकुराहर नखाने । एकैदिन रातो मासु र माछा खानु हुँदैन । मुटुलाई माया गर्नको लागि फलफूल र हरियो सागपात बढी खाने । कसैलाई भेट्न जाँदा फ्रेस जुसहरु लग्ने गर्नुपर्दछ । यस्तो गर्नसक्यो भने मुटुलाई माया गर्न सकिन्छ ।
प्रश्नः मानिसले दैनिक जीवनमा शारीरिक व्यायाम कम ग¥यो भने मुटुको रोग बढ्ने हो ?
हो नि । मानव जीवन भनेको त जंगलमा शिकार गरेर, दौडेर खाने थियो नि । अहिले यो सबै परिवर्तन भएर मानवीय जीवन एकदमै व्यस्त हुँदै गइरहेको छ । हरेक क्षेत्रका मानिसहरु काममा व्यस्त हुन्छन् । बिहान ८ बजे कार्यालय पुग्नुपर्ने भएका कारणले घरमा खाना पकाउन भ्याइँदैन । रेस्टुरेन्टको खाना खाने चलन बढ्दै गएको छ । त्यहाँ कुन तेलको प्रयोग गरिन्छ । त्यहाँ कति मात्रामा नुन हाल्छ । बासी पो हो कि त्यो हामीलाई थाहा हुँदैन । यस्तो बिजि सेड्युल र खानपानले पनि मुटु रोगको जोखिम बढाउँदै गएको छ । हामीले आफ्नै घरमा पकाएको खाना खायौं भने त सबै थाहा हुन्छ नि । त्यसकारण स्वस्थ खाना खानुपर्ने आवश्यकता देखिन्छ । पोलेको मासु भनेको कार्बन हो । त्यो त त्यत्तिकै खतरनाक भइहाल्यो । सकेसम्म नखाने । तपाई पूर्ण रुपमा स्वस्थ हुुनुहुन्छ भने तपाईले खान सक्नुहुन्छ । तर रातो मासु खाँदाखेरि नियमित रुपमा नखाने, खाइहाल्यो भने बिहानको समयमा खाने अन्य समयमा अत्याधिक प्रयोग नगर्ने ।
प्रश्नः उपचारका लागि तपाईसँग आउने मुटुसम्बन्धी बिरामीहरु कस्तो अवस्था हुन्छन्, कस्ता कस्ता बिरामीहरु आउने गर्नुहुन्छ ?
कतिपय बिरामीहरु हामीकहाँ छाती दुख्यो भनेर आउनुहुन्छ । हामी यो त हृदयघात हो भनेर भन्दा उहाँहरुलाई पत्यार नै लाग्दैन । उहाँहरु ग्यास्ट्रिकले होला भन्नुहुन्छ । त्यहाँ चिकित्सले भनेको कुरा सुन्नुपर्यो । त्यही अनुसारले जानुप¥यो । कोही चाहीँ सुगर र प्रेसर नहेरिकन औषधि लिइरहनुभएको हुन्छ । त्यस्ता बिरामीहरु आपत्कालीन अवस्थामा आउँदाखेरि कहिले काँही हामीले केही गर्न नसक्ने स्थिति पनि धेरै आएको छ ।
प्रश्नः मुटु रोगको घरेलु उपचार अथवा मुटुको स्याहार गर्ने तरिकाहरु बताइदिनुस् न ?
जवाफः तपाई स्वस्थ हुनुहुन्छ भने घरमा बसेर मुटुको केयर गर्नको लागि स्वस्थ खानेकुरा खाने, शारीरिक अभ्यास गर्ने र नियमित रुपमा अभ्यास गरेर पसिना बगाउने, तनाव नलिने, ६ देखि ८ घण्टासम्म सुत्ने, निन्द्रालाई माया गरेर सुत्ने गर्नुपर्दछ । यदी शंका लाग्यो भने तुरुन्त अस्पताल जाने त्यसको घरमा उपचार गर्न सकिँदैन ।
प्रश्नः अन्तिममा मुटुसम्बन्धी बिरामीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
बिरामीसँगसँगै स्वस्थ मान्छेहरुलाई के भन्न चाहन्छु भने नियमित शारीरिक अभ्यास गर्नुस् । त्यो पनि दिनदिनै चार, पाँच घण्टा गर्नुपर्दैन । यदि सुगर र प्रेसर छैन भने हप्ताको तीन घण्टा शारीरिक अभ्यास गर्नुस् । सुगर छ भने हप्ताको पाँच घण्टाजति शारीरिक अभ्यास गर्नुस् । आफूले घरमा खाने खानेकुराहरु खानुस् । चिल्लो कम खानुस् । चिज, बटर, घ्यु अत्याधिक प्रयोग नगर्नुस् । खानामा साधारण कुराहरु खाने । यदी हृदयघात भएको छ भने चिकित्सकको सल्लाहअनुसार नियमित रुपमा औषधि सेवन गर्ने र नियमित रुपमा औषधि सेवन गर्नसक्यो भने मुुटु पुरानै अवस्थामा फर्किने भएकाले भ्रममा नपरिकन बस्न आग्रह गर्न चाहन्छु ।
प्रश्नः अहिले मुटु रोगसम्बन्धी जशक्तिको अवस्था कस्तो छ, मुटु रोगसम्बन्धी उपचारका लागि सरकारले गरेका प्रयासहरु पर्याप्त छन् कि छैनन् ?
जवाफः अहिले इन्स्युरेन्स पोलिसी आएको छ । यो एकदमै राम्रो कुरा हो । जनशक्तिको कुरा गर्दा १० वर्ष पहिलेको तुलनामा अहिले धेरै नै राम्रो भएको छ । अहिले मानिसहरु समेत सचेत भएको अवस्था छ । सरकारले नै स्वास्थ्य क्लिनिक तथा स्वास्थ्य संस्थाहरुको स्थापना गरेको छ । तर सरकारले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा समेत सेवा सुविधा र अवसरहरु सिर्जना गर्नुप¥यो भन्ने धारणा राख्छु । अहिले ओपन हार्ट सर्जरी लगायत सबै उपचारहरु निजी अस्पतालहरुमा पनि हुने गर्दछ । यसमा सरकारले हेर्नुप¥यो । सरकारले निजी अस्पतालको लागि एउटा र सरकारी अस्पतालकको लागि अर्कै मापदण्ड बनाउने होइन । सरकार भनेको अभिभावक हो अभिभावकले सबै छोराछोरीहरुलाई समान व्यवहार गर्नुप¥यो । यस्तो भेदभाव त गर्नु भएन ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना