अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले समेत उडान प्रभावित गर्न सक्दैनः अर्थमन्त्री
पढ्न लाग्ने समय :
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीवारदेखि लागू भएको थियो । उहाँले उक्त प्रणालीले कम भिजिविलिटीमा उडान गर्न सक्ने बताउनु भयो । उहाँले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताउनु भयो । उहाँले आफूहरुले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गर्नुभयो । उहाँले सरकारले अगाडि बढाएका आयोजनाहरुको विरोध नगर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौं । कमी कमजोरी भए औंल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौं । त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरुको सामना गर्नुप¥यो । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुेको छ । केहीले भन्छन् चल्दैन । हामी चलाएर देखाउँछौं । हामीले बनाएको हो हामी नै चलाएर देखाउँछौं । यो आत्मविश्वास म व्यक्त गर्न चाहन्छु । भैरहवामा ८०० भिजिविलिटी भएपनि उडान गर्न सक्नेगरी उपकरण जडान गरिएको छ । अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन । हामीले संचालन गरेका र अगाडि बढाएका आयोजनाहरुका बारेमा प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
उहाँले सरकारको कमी,कमजोरी औंल्याउँदै सरकारले गरेका राम्रा कामहरु सबैले साथ दिनुपर्ने बताउनु भयो ।