अध्यादेश मुलकमा व्यवसायिक वातावरण निर्माण गर्न ल्याइएको हो,संसदबाट चाँडै स्वस्कृत गर्छौँः गृहमन्त्री लेखक
पढ्न लाग्ने समय :
गृहमन्त्री एवं नेपाली काँग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभएको छ । बिहीवार पार्टीनिकट नेपाल वित्तिय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ छ । उहाँले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताउनु भयो । उहाँले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत गर्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आइटी क्षेत्रले अहिलेको नयाँ जेनरेसनलाई आकर्षित गरिरहेको छ । नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ । त्यो सम्भावनालाई झन ज्यादा बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौं । व्यवसायिक वातावरणलाई अनुकुल बनाउनका लागि र सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौं । अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिन । तर प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौं । तर हामी त्यसलाई स्विकृत गराउँछौं चाँडै । किनभने त्यो गर्नैपर्ने काम छ ।’
उहाँले संविधान संशोधन नेपाली काँग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताउनु भयो । उहाँले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने बताउनु भयो । उहाँ संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको बताउनु भयो । सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘संविधान लागू भएको १० वर्ष भएको छ । यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरु के के रहे ? त्यसको परिहचान गर्ने र संविधान परिमार्नन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरुबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ । त्यसका लागि नेपाली काँग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ । केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ । नेपाली काँग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन । हामी प्रारम्भ गर्छौं र सअन्य सबै राजनीतिक दलहरुलाई समेत यसमा संवादकोमार्फत सहमतिमा ल्याउँछौं । र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं ।’
उहाँले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समिकरण र सरकार बनेको बताउनु भयो ।