सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने
पढ्न लाग्ने समय :
धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको गठबन्धन नटुट्ने दाबी गरिएको हो।
एमालेको समर्थनमा काँग्रेसका संसदीय दलको नेता कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री रहेका छन्। एमालेले समर्थन फिर्ता लिने बताएका बेला काँग्रेसले भने प्रदेश सरकारको गठबन्धन नटुट्ने बताएको हो। धनगढीमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेसले एमालेसँग नै गठबन्धन हुने बताएको छ। सरकार परिवर्तन नहुने काँग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले बताए। उनले भने, ‘नेपाली काँग्रेस सरकार परिवर्तन गर्ने विषयमा छलफल भएको छैन। काँग्रेसको गठबन्धन एमालेसँगै हुन्छ। गठबन्धन टुट्दैन।’
नेपाली काँग्रेसले धनगढीमा गर्न लागेको प्रदेश स्तरीय भेलाको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरिएको हो। काँग्रेसका सभापति गगनकुमार थापा सहभागी हुने कार्यक्रममा सुदूरपश्चिमका काँग्रेसबाट विजयी जनप्रतिनिधिहरूको सहभागिता रहने छ। पार्टीको नीति र निर्देशन उनीहरूले पालना गर्नुपर्ने नेपाली काँग्रेसले बताएको छ। स्थानीय तहको अन्तिम बजेट आउने तयारीमा रहेकाले सो विषयमा समेत पार्टीले भेलामा जनप्रतिनिधिहरूलाई निर्देशन दिने काँग्रेसले पत्रकार सम्मेलन मार्फत बताएको छ। उनले भने, ‘पार्टी सभापति पनि आउदै हुनुहुन्छ। चार वर्षसम्म हाम्रा जनप्रतिनिधिहरूले के गर्नु भयो। उहाँहरूको कामको समीक्षा हुन्छ। यो कार्यकालको अन्तिम बजेटको विषयमा पनि छलफल हुन्छ। सभापतिले निर्देशन दिनुहुन्छ। प्रतिवेदन पनि बनाउछौ। तल्लो निकायमा पनि पठाउछौ। पार्टीले पनि लगेर जान्छ।’
नेकपा एमालेका नेता प्रदेश सरकार तथा मुख्यमन्त्रीको कार्यशैली प्रति बेखुस छन्। एमालेले काँग्रेससँगको सत्ता साझेदारी समाप्त गर्दै नेकपासँग सत्ता साझेदारी गर्ने किसिमले कुराकानी अगाडि बढेका बेला काँग्रेसले खण्डन गरेको हो। नेपाली काँग्रेसले एमालेसँग लामो समयसम्म गठबन्धन रहने बताएको छ। काँग्रेसबाट विजयी जनप्रतिनिधहरूलाई उत्तरदायी बनाउन भेलाको आयोजना गरिएको काँग्रेसले बताएको छ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ जना र नेकपाका २२ जना सांसदमध्ये एक जना निलम्बित छन्। नेकपा र एमालेले सत्ता साझेदारी गरेमा उनीहरूसँग सरकार निर्माण गर्न स्पष्ट बहुमत छ।