कैलालीको लम्कीमा यातायात सेवा कार्यालय उद्घाटन

Friday April 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको पूर्वी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी लम्कीचुहा नगरपालिका-४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रवार एक विशेष समारोहबीच उक्त कार्यालयको उद्घाटन गरे।

कार्यालयको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले नागरिकलाई घरदैलोमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सुरु गरिएको बताए । उनले भने, “नागरिकको सुविधाका लागि सेवा कार्यालय सुरु भएको छ, आगामी दिनमा यहाँबाट प्रदान गरिने सेवाहरू थप विस्तार गर्दै लगिनेछ ।”

सङ्घीयता कार्यान्वयन हुनुअघि सुदूरपश्चिममा धनगढी र महेन्द्रनगरमा मात्र यातायात कार्यालय सीमित थिए । प्रदेश सरकार गठन भएपछि डडेलधुरा र डोटीमा कार्यालय स्थापना भइसकेका छन् भने लम्कीमा खुलेको यो पाँचौँ कार्यालय हो । प्रदेश मन्त्रिपरिषद्को २०८२ मङ्सिर २४ गतेको निर्णयअनुसार सेवालाई विकेन्द्रित गर्ने क्रममा यो कार्यालय सञ्चालनमा आएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार कार्यालयले गत चैत २४ गतेदेखि नै परीक्षणका रूपमा सेवा सुरु गरिसकेको थियो । सो अवधिमा बिलबुक नवीकरणबाट मात्रै १३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । “सरकारको नीति ‘लाइनमा होइन अनलाइनमा, भिडमा होइन प्रविधिमा’ भन्ने छ,” सचिव भण्डारीले भने, “हाललाई बिलबुक र लाइसेन्स नवीकरण सुरु गरिएको छ, मागअनुसार अन्य सेवा पनि थपिनेछन् ।”

कार्यालय सञ्चालनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि सात कोठाको भवन र पार्किङ क्षेत्र निःशुल्क उपलब्ध गराएका छन । वर्षौँदेखिको माग पूरा भएपछि स्थानीय जनप्रतिनिधि र नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर बयक, प्रदेश सभा सदस्य रामेश्वर चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नगार्जीसहित विभिन्न गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ