पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई आज अदालत लगिँदै

Sunday March 29, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतवार काठमाडौँ जिल्ला अदालत लगिँदै छ। दुवै नेतालाई शनिवार काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो।
गत भदौ २३–२४ गते नवयुवा पुस्ता (जेनजी) ले शान्तिपूर्ण रूपमा गरेको विरोध प्रदर्शन एकाएक हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो। उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भए भने आक्रोशित प्रदर्शनकारीले राज्यका महत्वपूर्ण संरचना, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सुरक्षा निकाय तथा सरकारी भवनहरू र व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड एवं लुटपाट गरी अर्बौंको क्षति पु¥याएका थिए।
उक्त घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठह¥याउँदै कारबाही सिफारिस गरेको थियो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबार गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णयसँगै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको हो।
मन्त्रीपरिषद् बैठकलगत्तै शनिबार नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख (आइजिपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित गृह प्रशासनका अधिकारीहरूसँग आवश्यक छलफल गर्नुभएको थियो। ओली र लेखकलाई पक्राउ गर्नुअघि दुवै प्रहरी सङ्गठनले उच्च सुरक्षा सतर्कता अपनाउँदै मातहतका निकायलाई तयारी अवस्थामा रहन सर्कुलर जारी गरेका थिए। विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा सतर्कता अपनाइएको थियो।
लेखकलाई पक्राउ गर्नुअघि लेखक निवास भक्तपुर सूर्यविनायक–५, कटुन्जे र ओली निवास गुण्डु क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। लेखकलाई प्रहरीले बिहान ५ः४० बजेको समयमा पक्राउ ग¥यो। त्यसलगत्तै ठुलो सङ्ख्यामा प्रहरी ओली निवास पुग्यो। प्रहरी टोली ओली निवास पुग्दा गेट बन्द गरी प्रहरीलाई घरभित्र पस्न अवरोध गरियो । पछि दुवै पक्षको धकेलाधकेलमा गेट खुल्यो र प्रहरी ओली बसेको कोठामै पुग्यो।
जरुरी पक्राउ पुर्जी लिएर पुगेको प्रहरी टोली देखेपछि ओलीले आफूमाथि राज्यले प्रतिशोध लिन खोजेको बताउँदै औषधीलगायत अत्यावश्यक सामान साथमा राखेर आफ्नै गाडीबाट प्रहरी परिसर काठमाडौँ आइपुग्नुभएको प्रहरीले जनाएको छ। घरबाट निस्कनुअघि ओलीलाई पत्नी राधिका शाक्यले अँगालो मारेर बिदाइ गर्नुभएको थियो।
ओली र लेखकलाई आवश्यक स्वास्थ्य परीक्षणपछि नेपाल प्रहरीको महाराजगन्जस्थित दुई नम्बर गणमा राख्ने तयारी भइरहेको छ।


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून