चैतन्य पाठशालाको रजत जयन्तीमा जगत टमट्टा सम्मानित
पढ्न लाग्ने समय :
धनगढीः धनगढीक चैतन्य पाठशालाको रजत जयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। समारोहको अवसरमा खेलकुद क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै शैक्षिक सहयोगका कार्यक्रम पनि सञ्चालन गरिएको छ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा क्रिकेट खेलको विकासमा सक्रिय व्यक्तित्व जगत टमट्टालाई “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” प्रदान गरिएको छ। लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद संस्कृतिको प्रवद्र्धनमा उनले महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्।
सुदूरपश्चिम क्षेत्रमा क्रिकेटलाई लोकप्रिय बनाउने, नयाँ प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिने तथा राष्ट्रिय स्तरसम्म पु¥याउन प्रेरित गर्ने कार्यमा उनको सक्रियता उल्लेखनीय रहेको बताइएको छ।
रजत जयन्ती समारोहका क्रममा महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज तथा चैतन्य पाठशालाका पदाधिकारीहरूले संयुक्त रूपमा टमट्टालाई खादा, माला, दोसल्ला, नगद रु. ५० हजार सहित “चैतन्य खेलकुद साधना पुरस्कार–२०८२” तथा अभिनन्दन–पत्र प्रदान गरेका हुन्।
सम्मान ग्रहण गर्दै टमट्टाले आफूलाई गरिएको सम्मान व्यक्तिगत मात्र नभई समग्र खेल जगतका लागि प्रेरणादायी भएको बताए। उनले चैतन्य पाठशालाले शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा गर्दै आएका गतिविधिहरू आफूले नजिकबाट नियाल्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गरे।
चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले खेलकुदमार्फत युवालाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने, स्वस्थ जीवनशैली विकास गराउने तथा समाजमा खेल संस्कृतिलाई मजबुत बनाउने कार्यमा टमट्टाको योगदान प्रशंसनीय रहेको बताए। पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले पनि खेलकुदले युवामा अनुशासन, सहकार्य, आत्मविश्वास र सकारात्मक सोच विकास गराउने भएकाले यस क्षेत्रमा समर्पित व्यक्तित्वहरूको योगदान समाजका लागि प्रेरणादायी हुने उल्लेख गरे।
यसैबीच, रजत जयन्ती समारोहकै अवसरमा ‘चैतन्य शैक्षिक जागरण अभियान’ अन्तर्गत कैलाली बहुमुखी क्याम्पस, धनगढीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरिएको हो।
कार्यक्रममा महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल तथा चैतन्य पाठशालाका पदाधिकारीहरूले संयुक्त रूपमा क्याम्पस प्रमुख डा. लोकराज बिष्टलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका थिए।
स्मार्ट बोर्ड ग्रहण गर्दै क्याम्पस प्रमुख डा. बिष्टले चैतन्य पाठशालाले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र आधुनिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले उक्त उपकरण क्याम्पसको सेमिनार हलमा सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रम, गोष्ठी तथा अन्तरक्रियामा प्रयोग गरिने जानकारी दिए।
चैतन्य पाठशालाले स्थापना कालदेखि नै शिक्षा मात्र नभई खेलकुद, साहित्य, समाजसेवा तथा सांस्कृतिक क्षेत्रको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले हरेक वर्ष विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको जनाएको छ।
रजत जयन्ती समारोह अन्तर्गत विद्यालयले सांस्कृतिक, शैक्षिक तथा सामाजिक गतिविधिहरू आयोजना गर्दै आएको छ। “चैतन्य शैक्षिक जागरण अभियान” मार्फत शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने, प्रविधिमैत्री शिक्षाको प्रवद्र्धन गर्ने तथा शैक्षिक संस्थाबीच सहकार्यलाई सुदृढ बनाउने लक्ष्य रहेको प्राचार्य ओझाले बताए। आगामी दिनमा पनि विभिन्न विद्यालय तथा क्याम्पसहरूलाई आवश्यक शैक्षिक सामग्री र प्रविधिमैत्री उपकरण उपलब्ध गराउँदै जाने योजना रहेको उनले जानकारी दिए।