बाजुराको बुढीगङ्गाका सात जना कर्मचारी एकसाथ निलम्बनमा, तीन करोड भ्रष्टाचार
पढ्न लाग्ने समय :
बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिकाका ७ जना कर्मचारी एकसाथ निलम्बनमा परेपछि कर्मचारी अभाव भएको छ।
प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख र सात जना कर्मचारीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ।
आयोगले मुद्दा दायर गरेपछि अधिकृत नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी तथा प्रशासन सहायक बसन्तबहादुर थापा निलम्बनमा परेको जनाइएको छ।
७ जना कर्मचारी एकै पटक निलम्बनमा परेपछि नगरपालिकाको कामकाज ठप्प भएको छ। बुढीगंगाका नगर प्रमुख रामबहादुर बानियाँले पालिकामा कार्यरत कर्मचारीहरू निलम्बनमा परेपछि सेवा प्रवाह प्रभावित भएको बताए।
अख्तियारले नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन नगर प्रमुख सहित १४ जना र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
तत्कालीन मेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनासँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो असुल उपर गरी कैद सजाय माग गरिएको छ।