चितवनमा रगतको अभाव

Tuesday April 30, 2024

पढ्न लाग्ने समय :


नारायणगढ (चितवन) । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उनले जानकारी दिए ।

यहाँ माग पूर्ति गर्न नसक्दा अन्यत्रबाट रगत ल्याउने गरिएको भन्दै उनले एक महिना अघि पनि एक हजार युनिट रगत पोखराबाट ल्याइएको बताए । उनले भने, “गर्मी मौसममा रक्तदान कार्यक्रमको आयोजना कम हुन्छन्, प्रायः यस मौसममा रगतको अभाव हुने गर्दछ ।” उनले रक्तदाताको सङ्ख्या घट्दा पनि रगतको अभाव देखिएको बताए ।

धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उनको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उनले बताए । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताए ।

उनले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिए । रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उनको भनाइ थियो ।

रक्तदान गर्न अपिल

रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । अपिलमा भनिएको छ, “भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताललगायत निजी र प्राइभेट, सामुदायिक अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दो भएकाले र हाल गर्मी मौसमका कारणले रक्तदान कार्यक्रमको आयोजना कम हुनु भएकाले रगतको मागमा हाल अत्यधिक वृद्धि भई मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान, दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घ संस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ ।”

इच्छुक रक्तदाता एवं रेडक्रसकर्मीले नेरेसो प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरलगायत मातहतका रक्तसञ्चार युनिट (क्यान्सर अस्पताल युनिट, चितवन मेडिकल कलेज युनिट, वघौडा अस्पताल आकस्मिक रक्तसञ्चार एकाइ, रत्ननगर नगरपालिकाअन्तर्गत नेरेसो रक्तसञ्चार एकाइ) मा गई रक्तदान गरी सहयोग पु¥याइदिनु हुनका लागि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले जारी गरेको अपिलमा अनुरोध गरिएको छ ।

मेडिकल सिटिका रुपमा विकासहुँदै गएको यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ््ख्यामा बिरामी आउने गरेका छन् ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ