भौतिक पूर्वाधार नहुँदा आयुर्वेद औषधालयमा समस्या

Friday April 12, 2024

पढ्न लाग्ने समय :


दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो ।

औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले जनाएको छ । भवन पनि चुहिने र जीर्ण अवस्थामा रहेको हुँदा उपलब्ध जनशक्तिले पनि गुणस्तरीय आयुर्वेद सेवा दिन नसकेको औषधालयका प्रमुख डा ओम प्रकाश कलौनीले बताए ।

“विसं २०५२ सालमा निर्माण भएको भवन जीर्ण भइसकेको छ”, डा कलौनीले भने, “भएको जनशक्तिले पनि भौतिक पूर्वाधर अभावका कारण सेवा दिन सकेका छैनौँ ।” पछिल्लो समय पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको उनले बताए ।

“महिला पुरुष बिरामीलाई एउटै कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उनले भने, “पञ्चकर्म सेवा लिन मात्रै दैनिक ४० जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।” उनले सामाजिक विकास मन्त्रालयले डिपीआर तयार गरेको बताउँदै आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने अपेक्षा गरेको बताए ।

औषधालयले दिने सेवा राम्रो भए पनि साघुँरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ । पञ्चकर्म सेवा लिन औषधालयमा पुगेका स्थानीय चन्द्रकान्त ठकुराठीले अस्पतालमा बिरामीलाई बस्न र शौचालयको सुविधासमेत नभएको बताए । “यहाँ उपचार गरेपछि मेरो स्वास्थ्यमा सुधार भएको छ सेवा एकदमै राम्रो छ”, उनले भने, “उपचारका लागि साघुँरो कोठामा पर्दा लगाएर महिला र पुरुषको उपचार हुन्छ यसले असहज भएको छ ।” उहाँले महिला पुरुषका लागि छुट्टै कोठामा उपचारको व्यवस्था हुनुपर्ने धारणा राखे ।

“सरकारले महेन्द्रनगरमै कराडौँका संरचना निर्माण गरेको छ ती संरचना प्रयोगविहीन छन्”, स्थानीय रमेश पन्तले भने, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन तीनै तहका सरकारले आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थप्नुपर्छ ।”

गत आर्थिक वर्षमा औषधालयबाट २६ हजारले ओपिडी सेवा लिएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८ हजार सेवाग्राहीले सेवा लिएको औषधालयले जनाएको छ । औषधालयबाट ओपिडीमा स्वास्थ्य परीक्षण गरी निःशुःल्क रुपमा औषधि दिने गरिएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ