जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा

Wednesday April 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

उक्त कार्यका लागि कामपा र निजामती अस्पतालबीच सहमति भइसकेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए । उनका अनुसार सार्वजनिक साझेदारीको अवधारणाअनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदानप्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने उनको भनाइ छ ।

समझदारीबमोजिम महानगरले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँचसहितका काममा सहकार्य हुने भएको परियारले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसिजी, ब्लड सुगर, सिबिसी, एक्स–रेसहित १० किसिमका स्वास्थ्य परीक्षण हुनेछन् ।

महिलाहरूमा देखा पर्नसक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाको एचपिभी डिएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछन् ।

यस्तै, परिचयपत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि युएसजी, इसिजी, युरिन, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ किसिमका परीक्षण हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए । उनका अनुसार माथि उल्लिखित सेवा प्राप्त गर्नका लागि तोकिएबमोजिम बिरामीलाई कामपाले सिफारीस गर्नुपर्ने छ ।

सिफारिसपत्रका आधारमा निजामती अस्पतालले सेवा सहमतिअनुसारको सेवा उपलब्ध गराउनेछ । उपचारमा लागेको खर्च कामपाले उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पठाइएका बिरामीको छुट्टै कक्षबाट उपचार गरिनेछ । उक्त केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ ।

अस्पतालले महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बीमा सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन र भौतिक संरचना निर्माण तथा मर्मतसम्भारको विषयमा पनि कामपासँग सहकार्य गर्न सकिने जनाएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ