सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

Tuesday April 9, 2024

पढ्न लाग्ने समय :


बरहथवा (सर्लाही) । नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन (सिएस)सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–५ ढुमढुमेस्थित नगर अस्पतालमा यही चैत १ गतेदेखि सिएससहितको बर्थिङ सुविधा सुरु भएको हो । निजी अस्पतालमा महँगो पर्ने सिएस सेवा नगर अस्पतालमा नै निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको आकर्षण बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामविश्वास रायले जानकारी दिए ।

असुरक्षित रूपमा सुत्केरी गराउने सङ्ख्या घटेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा एकैदिन तीन जनासम्मको ‘सिएस’ विधिबाट सुत्केरी गराइएको डा रायले बताए । नगर अस्पतालमा महिना दिनमा १२ जनाले सिएस सेवा लिएका छन्भने चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ८२ जनाले प्रसूति सेवा लिएका छन् ।

आफ्नै गाउँठाउँमा शल्यक्रियासहितको सुविधा पाउँदा खुसी लागेको ईश्वरपुर नगरपालिका–९ निवासी अञ्जुकुमारी चौधरीले जानकारी दिइन् । “बुहारीलाई सुत्केरी गराउन निजी अस्पताल लैजाँदा ६० हजार तिर्नुपरेको थियो”, उनले भनिन्, “यहाँ पैसा तिर्नुपरेको छैन । सबैले अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउनुपर्छ ।” निकै सुविधा भएको भन्दै अन्जुकी आमा बिना चौधरीले खुसी व्यक्त गरिन् ।

नागरिकको सुविधालाई ध्यान दिँदै प्राथमिक स्वास्थ्य संस्थाबाट विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गरिएको वडाध्यक्ष मीनप्रसाद ढुङ्गेलले बताए । सुरुमा नर्मल डेलिभरी सेवामात्र रहेको स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नतिपछि सेवा विस्तार गरिएको उनी बताउँछन् । “अहिले शल्यक्रियाबाट सुत्केरी गराउनु परे पनि बाहिर जानु पर्दैन”, उनले भने, “हामीसँग डाक्टरदेखि चाहिने सबै उपकरण उपलब्ध छन् ।”

पहिला यति सेवा लिन महँगो खर्चमा टाढा जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । यहाँ जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा छ । उच्च रक्तचाप, मधुमेह, क्षयरोगलगायतका परीक्षण निकै सुलभ मूल्यमा हुने गरेको ल्याब टेक्निसियन प्रकाश यादवले जानकारी दिए । ल्याव सेवा लिन आउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उनको दाबी छ । जिल्लाका सम्पूर्ण पालिकालाई प्रदेश सरकारबाट जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्न सहयोग गरिएको थियो ।

उपचारका लागि अन्यत्र जानुपर्ने बिरामले ल्याब परीक्षण गराएर जाने गरेका टेक्निसियन यादव बताउँछन् । ल्याबबाट प्रदान भएको सेवामा सेवाग्राहीको विश्वास बढेको बताए । अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको औषधि र उपचार सेवा उपलब्ध रहेकाले बिरामीको चाप रहेको अस्पताल स्रोतले जनाएको हो ।

जिल्लामा सदरमुकाम मलङ्गवास्थित प्रदेश अस्पताल र लालबन्दी नगर अस्पतालमा मात्र शल्यक्रियासहितको सुत्केरी सेवा सञ्चालनमा छ । यसअघि सिएस सेवा लिन धेरै रकम खर्च गरेर वीरगञ्ज, जनकपुर, भरतपुर, काठमाडौँलगायत ठूला सहर धाउनुपर्ने बाध्यता थियो । नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ