‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला

Saturday April 6, 2024

पढ्न लाग्ने समय :


कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन्।

अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन्। आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत आव २०७९/८० को मङ्सिर २१ गतेदेखि सुरु गरिएको ‘आमा बचाउ’ अभियानमा गर्भवती, प्रसव र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

उनका अनुसार अभियानमा सो अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले हाल चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ। एम्बुलेन्स प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने उनले बताए। एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरिरहेको तथा तीन एम्बुलेन्स वडा नं. १६, १८ र १९ बाट सञ्चालनमा रहेको उनले बताए।

‘आमा बचाउ’ अभियानमा चालु आवको फागुन मसान्तसम्म उपमहानगर क्षेत्रका तीन सय २२ गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए।

निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नं. १६ का वडाध्यक्ष रामलाल चौधरीले बताए।

“ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ”, उनले भने, “अहिले निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ, आर्थिक अवस्था कमजोर भएकालाई झनै सहज भएको छ।”

ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर ‘आमा बचाउ’ अभियान सुरु गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

“ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्रयाक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ”, उनले भने, “त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘आमा बचाउ’ अभियान सञ्चालन गरिएको हो।”

उपमहानगरपालिकाले आफूसँग भएका एम्बुलेन्सलाई आमा बचाउ अभियानमा प्रयोग गरेको नगरप्रमुख हमालले बताए। अभियानलाई वडाको माग अनुसार विस्तार गर्दै लैजाने उनको भनाइ छ।

गत आव २०७९/८० मा ‘आमा बचाउ’ अभियानबाट उपमहानगर क्षेत्रका दुई सय ५८ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ