स्वास्थ्य मन्त्रालय भन्यो: डेङ्गुकाे सङ्क्रमण बढ्दाे छ सचेतना अपनाउनू

Wednesday April 3, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए ।

“गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ । यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए ।

“माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ”, डा दाहालले भने, “अन्य स्थानीय तहलाई पनि डेङ्गुबारे सचेतना जगाउन आग्रह गरेका छौँ ।” उनका अनुसार डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गु लाग्दछ ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे ।

“सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन”, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले भने ।

उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ