सर्लाहीका स्वास्थ्य केन्द्रमा रेविज खोप अभाव

Monday April 1, 2024

पढ्न लाग्ने समय :


बरहथवा (सर्लाही) । सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।

मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लालबन्दीस्थित नगर अस्पतालका डा राम विश्वास रायले जानकारी दिए । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ ।

जिल्लामा साविक पाँच वटा प्राथमिक स्वाथ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ । यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा प्रदान हुने गरेको अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा नवलकिशोर झाले जानकारी दिए ।

सेवा सञ्चालन भइरहेका जिल्लाका उत्तरी क्षेत्रका लालबन्दी, हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र र सासापुर स्वास्थ्य चौकीमा हरेक महिना औषधि अभाव हुने गरेको छ । सासापुर स्वास्थ्य चौकी हरिवनमा मासिक २५ देखि ४० भाइल मात्र खोप आउने गरेको छ । तर, माग सय भाइल रहेको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

‘‘यहाँ माग सय भाइलसम्म हुने गरेको छ ।’’ उनले भने, ‘‘कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेका बिरामी धेरै आउँछन् । तर, औषधि मुस्किलले हप्तादेखि दुई हप्तालाई मात्र पुग्छ ।’’ आफूहरुले प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रमा माग पत्र बुझाएको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र हरिपुरमा पनि खोप सकिएको चिकित्सकहरुले बताएका छन् । यस महिनाको लागि आएको ४० भाइल खोप गत १५ गतेअघि नै सकिएको लालबन्दी नगर अस्पताका डा रायले जानकारी दिए । रेविज विरुद्धको खोप लगाउन आउनेलाई अन्यत्र पठाउने गरीएको उनको भनाइ थियो ।

खोपका लागि मासिक सय जना बिरामी आउने गरेको र औषधिको कोटा थोरै हुँदा समस्या भएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक अनिलकुमार चौधरीले जानकारी दिए । ‘‘अहिले हामीसँग खोप छैन ।’’ उनले भने, ‘‘सधैँ यस्तो त हुन्न तर, पनि औषधि पर्याप्त छैन । सधैँ नपुग नै हुन्छ ।’’
रेविजविरूद्धको खोप सरकारले निःशुल्क रूपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि भनेर एक मात्राको सय रुपैयाँसम्म लिने गरेका छन् । त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लीनिकबाट किनेर प्रयोग गर्न बाध्य छन् ।

रेविज विरुद्धको खोप बजारमा प्रति भाइल दुई हजार पाँचदेखि तीन हजारसम्म पर्ने गरेको छ । यसरी सरकारले अनुदानमा निःशुल्क दिने भनेको रेविज विरुद्धको खोपसमेत अभावमा बजारमा गएर किनेर लगाउनुपर्दा विपन्न नागरिकलाई मर्का परेको हरिवन नगरपालिकाकी रीता सापकोटाले बताए ।

यता प्रादेशिक अस्पताल मलङ्गवामा प्रत्येक महिना तीन सय भाइल हाराहारीमा खोप आउने गरेको छ । अस्पतालका मेसु डा नवलकिसोर झाले औषधि पर्याप्त रहेको बताए । प्रदेशबाट कुनै रोकतोक विना खोप दिने गरेको उनको भनाइ छ । प्रयोग विवरण स्पष्ट बुझाउनुपर्ने उनको दाबी छ ।

कुकरले टोके एक व्यक्तिले यो खोप २८ दिनभित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ