क्षयरोगका बिरामी पहिचान गर्नै चुनौती

Sunday March 24, 2024

पढ्न लाग्ने समय :


म्याग्दी । म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ । बिरामी आफैँ स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्नेलगायत कारणले क्षयरोग निवारणमा चुनौती बनेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुुख भुुवन ठकुराठीले क्षयरोग नियमित औषधि सेवन गरेमा निको हुने सरुवा रोग भएकामा देवीदेवताका कारण भएको मानेर हेलचक्र्याई गर्नाले मानिसको ज्यान लिने तथा धेरैलाई सर्ने गरेको बताए ।

“स्थानीय तहहरुले क्षयरोगमुक्त पालिका बनाउन समुदायस्तरमा पुगेर बिरामीको पहिचान र नियमित औषधि उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ,” उनले भने, “क्षयरोग परीक्षण गर्ने प्रयोगशाला र जनशक्ति सीमित हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन् ।”

लगातार दुई हप्ता भन्दाबढी समय सुख्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परीक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गरे । उनका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा छ महिनादेखि १३ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा चार, धवलागिरी, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई/दुई जना क्षयरोगी भेटिएका हुन् ।

गत आवमा बेनीमा २८, अन्नपूर्णमा आठ, रघुुगङ्गामा पाँच, धवलागिरीमा छ, मालिकामा आठ र मङ्गला गाउँपालिकामा पाँच जना क्षयरोगी भेटिएका थिए । आव २०७८/७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए ।

“म्याग्दीको जनसङ्ख्याको अनुपातमा वार्षिक दुई सय ४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन,” सुवेदीले भने, “यहाँका बिरामी उपचारका लागि बाहिर जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।” म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको उनले जानकारी दिए ।

बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्यचौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परीक्षण हुुन्छ । भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परीक्षण गर्न ल्याउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताए ।

क्षयरोग निवारणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर समुदायस्तरमा जनचेतना अभिवृद्धि, परीक्षण र उपचारमा पहुँच बढाउनुपर्ने उनको भनाइ छ ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ