‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

Wednesday March 20, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा आजदेखि खोप लगाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मङ्गलबारदेखि खोप लगाउन सुरु गरिएको छ ।

बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदुरपश्चिमको डडेल्धुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए । सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने उनले बताए । उनका अनुसार करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ ।

सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो ।

खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताए । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए । उनका अनुसार विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।

प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको बताए । उनका अनुसार भाइरसका कारण ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान तथा सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ